बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

ओली सरकार २–३ वर्ष जसरी पनि रहनुपर्छ, शुभकामनाः कांग्रेस नेता बस्नेत

दैनिक नेपाल २०७७ मंसिर १३ गते ७:४६

नेपालगञ्ज, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले आफ्नै कारणले सरकारको दिनगन्ती शुरु भइसकेको बताएका छन् ।

शुक्रबार बाँकेको नेपालगञ्जमा कांग्रेस निकटको नेपाल लोकतान्त्रिक खेलकुद संघ र केन्द्रीय खेलकुद विभागले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले केपी ओली नेतृत्वको यो सरकार कुनै पनि हालतमा २–३ वर्ष चल्नुपर्ने बताए ।

‘सरकारको दिनगन्ती शुरु भएपनि नेपाली कांग्रेसले यो सरकार अझै २–३ वर्ष चलोस् भन्ने कामना गरिरहेको छ’, बस्नेतले भने, ‘आगामी चुनावमा जनताले नेकपालाई मूल्यांकन गर्नेछन् ।’

उनले सरकारको गतिविधिबाट नेकपाभित्रै तीव्र असन्तुष्टि ब्यक्त भइरहेको बताएका छन् ।

सरकारले कांग्रेस कार्यकर्तालाई विभिन्न बहानामा दुःख दिने काम गरिरहेको भन्दै कांग्रेस नेता बस्नेतले सरकारले प्रहरी प्रशासनलाई गलत रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

उनले सरकारले जनताका अपेक्षा र चाहनालाई कत्तिपनि पूरा गर्न नसकेको बताए ।

‘सरकारले गर्नुपर्ने काम कांग्रेसले गरिरहेको छ’, उनले भने, ‘हामीलाई काम गर्दा ठाउँ–ठाउँमा रोक्ने काम भइरहेको छ ।’

विगतमा कांग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेको, पटक–पटक सरकारको नेतृत्व गरेपनि कांग्रेसले कहिल्यै बदलाको भावना नराखेको उनले बताए ।

शुक्रबार नै नेपाली कांग्रेस बाँकेको कार्यालयमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता बस्नेतले कोरोना महामारीलाई कारण देखाएर पार्टीको अधिवेशन अब लम्ब्याउन नहुने बताए ।

‘कोरोना ठीक होला र हामीले अधिवेशन गरौला भन्ने हो भने अधिवेशन कहिल्यै हुँदैन’, उनले भने, ‘भारत र अमेरिकामा त चुनाव भइसक्यो ।’

‘पार्टीमा कसलाई कहाँ र कुन भूमिका दिने, कसलाई कहाँ सुरक्षित गर्ने भन्ने मात्रै विषय रहेको छ’, बस्नेतले भनेका छन्, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले बिधानले दिएको अधिकार अनुसार नेतृत्व चयन हुनेछ ।’

उनले नेकपाभित्रको आन्तरिक कलहमा कांग्रेस अहिले समावेश हुन नसक्ने बताएका छन् ।

बाँके कांग्रेसकी सभापति किरण कोइरालाले जिल्लामा कांग्रेस कार्यकर्ताहरू सुरक्षित भएर काम गर्न कठिनाइ भएको बताइन् ।

नेकपा कार्यकर्ताको रबैयाका कारण कांग्रेस कार्यकर्तालाई आफ्नो ज्यान बचाएर काम गर्न समस्या भइरहेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित