२ कार्तिक २०८३, सोमबार

नेतृत्व नयाँ पुस्तामा सारौं: ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ मंसिर । नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले बतायो।

दाहालले लगाएको आरोपको खण्डन गर्दै प्रतिवेदन तयार पारेका प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको नेतृत्व लिन नयाँ पुस्ता सक्षम भइसकेकाले सहज ढंगले हस्तान्तरण गर्ने विषयलाई जोड दिएको उनी पक्षका एक नेताले बताए। ‘मुलुकको कार्यकारी प्रमुख तथा पार्टीका प्रथम अध्यक्ष भएकाले उहाँ (ओली) को जवाफ गैरराजनीतिक र गैरजिम्मेवार हुँदैन,’ ती नेताले भने, ‘देश र पार्टीको आजको आवश्यकता र भोलिको सही बाटो के हुने भन्ने दिशानिर्देश प्रतिवेदनले गर्नेछ।’

ओलीले सचिवालयमा प्रस्तुत गर्ने सो प्रतिवेदनबारे आफ्नो टिमका नेताहरूसँग लामो छलफल गरेका छन्। ती नेताका अनुसार फर्जी विषय उठान गरेर आरोप लगाउने कुरा छैन तर आरोपको खण्डन भने यथार्थपरक ढंगले हुन्छ। ‘पार्टी एकता कमजोर पार्ने र फुटलाई बढावा दिने हिसाबले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीको प्रतिवेदन आउँदैन, समस्याको निकास दिनेगरी आउँछ तर खण्डन गर्दा कतिपय विषय तीतो यथार्थ पनि हुन सक्छन्,’ ती नेताले भने। दाहालले व्यक्तिगत रूपमै आरोप लगाएपछि त्यसको खण्डन गर्नुपर्ने अवस्था आएको स्रोतको भनाइ छ।

‘सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्ड (दाहाल) को तथ्यहीन आरोपको जवाफ दिँदै स्पष्ट पार्नुहुन्छ। उहाँ दाहाल कमरेडको पनि अभिभावक भएकाले अभिभावकीय दायित्व निर्वाह गर्नुहुन्छ,’ प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्री ओली झापा आन्दोलनबाट खारिएर राजनीतिमा संलग्न हुनुभएको हो र प्रचण्डले रामपुरमा क्याम्पस पढाउँदै गर्दा उहाँ नक्खु कारागारमा कठोर सजाय भोगिरहनुभएको थियो। वर्षका हिसाबले, राजनीतिक संलग्नताका हिसाबले पनि उहाँ दाहालभन्दा जेठो हुनुहुन्छ।’

पार्टी नेतृत्वका हिसाबले एकताको प्रमुख शक्ति ओली हो भने दाहालले सहायक शक्तिका हिसाबले पार्टीमा प्रतिनिधित्व गर्ने प्रेस सल्लाहकार थापाले बताए। ‘गएको संसदीय चुनावमा प्रत्यक्षतर्फ प्राप्त सिट संख्या हेर्ने हो भने ७१ सिट ओली र २९ सिट प्रचण्डसँग हो। मतका हिसाबले हेर्ने हो भने ३३ लाख र १३ लाख हो। त्यसकारण दाहालमा गलत प्रवृत्ति देखा पर्दा अभिभावकीय भूमिका निर्वाह गर्ने दायित्व पनि प्रधानमन्त्री ओलीमा हुन्छ,’ प्रेस सल्लाहकार थापाले भने, ‘यसर्थ अहिलेको मुलुकको आवश्यकता र जिम्मेवारीलाई ख्याल गरी पार्टी बलियो बनाउने हिसाबले उहाँको प्रतिवेदन आउँछ। यसबाट नयाँ उचाइ प्राप्त हुनेछ।’

लामो विवादपछि भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो। सोही बैठकले चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो। पछिल्लो समय मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशमा पार्टी विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीचको दोहोरो झडप र हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आदिलाई लिएर नेकपामा विवाद चुलिएको छ।

विवाद समाधान गर्न कात्तिक २२ गते सचिवालयका पाँच सदस्यले बैठक माग गर्दै ओलीलाई पत्र बुझाएका थिए। त्यसको जवाफमा ओलीले २५ गते १० पेजको जवाफ फर्काएका थिए। त्यसपछि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले १९ पेजको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले दाहालले प्रतिवेदनमा लगाएका आरोपको जवाफ फर्काउन १० दिनको समय मागेका थिए। मंसिर ३ को निर्णयअनुसार शनिबार सचिवालय बैठक बस्नेछ। टपेन्द्र कार्कीले नागरिक दैनिकमा खबर छापेका छन् ।