शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बर्दिबास घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

मृतक बालिकाको पोस्टमार्टम सकियो, आजै परिवारले शव बुझ्दै

दैनिक नेपाल २०७७ मंसिर १२ गते १४:२१

काठमाडौं, १२ मंसिर । महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाबसा खातूनको हत्या विरोधमा प्रदर्शनमा उत्रिएकामाथि भएको दमनको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

हत्या विरोधमा उत्रिएकाहरु मध्य सञ्जय भनिने बुद्धिराज गुरुङको प्रहरीले चलाएको गोलीका कारण ज्यान गएको थियो । अन्य केही प्रदर्शनकारी पनि घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

मृत बालिकाको परिवार, प्रदर्शनमा घाइते भएका र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिने कामसमेत मन्त्रालयले अघि बढाएको बताएको छ ।

मृतक बालिकाको पोस्टमार्टम सकियो, आजै परिवारले शव बुझ्दै

यसैबीच बालिकाको पोस्टमार्टम रिपोर्ट प्रादेशिक अस्पताल जनकपुरले आज प्रहरीलाई लिखित रूपमै पठाउने तयारी गरेको छ ।

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा. रामदेव चौधरीको अध्यक्षतामा गठित ६ सदस्यीय मेडिकल बोर्डले नै शबको पोस्टमार्टम (शब परीक्षण) गरेको छ । गत मंसिर ७ गते बर्दिबास नगरपालिका वडा नम्बर १४ निबासी साहिद अन्सारीकी ६ बर्षीया छोरी गुलाबसा खातूनको हत्या गरिएको थियो ।

अब किटानी जाहेरी लेख्ने तथा दर्ता गराउने प्रक्रिया सम्पन्न भएपछि परिवारजनलाई शब जिम्मा लगाइने पहल शुरू भई सकेको बताइएको छ ।

बालिका हत्याको आरोपमा महोत्तरीको गौशाला घर भएको अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित