शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बेनी नगरपालिकाका विद्यालय आइतबारदेखि नियमित खुल्दै

दैनिक नेपाल २०७७ मंसिर १२ गते १०:५३

म्याग्दी, १२ मंसिर । आगामी आइतबारदेखि म्याग्दीको बेनी नगरपालिकाका सबै विद्यालय नियमित रुपमा खुला गरिने भएको छ ।

नगरपालिकाको सर्वपक्षीय बैठकले पढाइ नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो । यसअघि कोरोना भाइरसको सङ्क्रमण जोखिम तथा लकडाउनका कारण विद्यालय बन्द गरिएको थियो । मंसिर १४ गतेदेखि नियमित रुपमा पठनपाठन शुरु गर्ने निर्णय गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

सरकारले जारी गरेको जनस्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालना गरी विद्यालय खुला गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्न व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकले अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दूरीलाई ध्यान दिने, साबुन, पानी र स्यानिटाइजरको व्यवस्था गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

विद्यालय सञ्चालनको क्रममा कोरोना भाइरससम्बन्धी लक्षणहरु मिल्दाजुल्दा देखिएका विद्यार्थीको स्वास्थ्य अवस्था जाँच गराउने, स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने, शिक्षक र अभिभावक सचेत रहेर पाठनपाठन नियमित गराउने निर्णय समेत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित