शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेकपा विवाद: शक्ति सञ्चय गर्न गुटगत भेला तयारी

दैनिक नेपाल २०७७ मंसिर १२ गते ७:२२

काठमाडाैं, १२ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ । दाहाल पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् । ओली समूहले भने दुई चरण आन्तरिक भेला गर्ने तयारी गरेको छ ।

नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको तयारी गरको भए पनि केन्द्रीय कमिटी बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर केन्द्रीय सदस्यहरूसँग समन्वय तथा छलफल भने भइरहेको स्रोतले जनाएको छ । ‘आन्तरिक रूपमा कुराकानी भइरहेको छ । पार्टीका बैठकहरू नियमित नहुँदा समस्या आउने र जनप्रतिनिधिहरूबीच पनि समन्वय अभाव हुने भएकाले छलफल र भेटघाट सामान्यजस्तै बनेको छ,’ नेपाल समूहका एक नेताले भने । कतिपय नेताहरूले दुई दिनअघि वरिष्ठ नेता नेपाल पर्सा पुग्नुलाई पनि गुटगत भेलाको तयारीका रूपमा अथ्र्याएका छन् । नेता नेपालले आफ्ना कुरा र विषय सुनुवाइ नभए देशव्यापी रूपमा कार्यकर्तामाझ जाने बताउँदै आएका छन् । सचिवालय बैठक वा अन्य सन्दर्भमा पनि नेपालले पार्टी विधिपद्धतिअनुसार सञ्चालन नभएको, आफ्नो समूहलाई पेलेको जस्ता मुद्दा लिएर कार्यकर्तामाझ जाने बताउँदै आएका छन् ।

६ दिनअघि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगर कमिटीमा गरेको सम्बोधनलाई ओली समूहले गुट भेला आयोजना गरेको भनी आरोप लगाएको छ । त्यहाँ ओली पक्षका केही कार्यकर्ताले पाण्डेमाथि दुव्र्यवहारसमेत गरेका थिए । त्यस्तै पोखरा पुगेका पाण्डेमाथि त्यहाँ आफूनिकट कार्यकर्तासँग मात्र भेटघाट गरेको आरोप लगाइएको छ । केही दिनअघि पार्टी उपाध्यक्ष वामदेव गौतम दाङ पुगेका थिए । निजी तथा पारिवारिक काममा दाङ गएका गौतममाथि ओली समूहले गुट भेला गरेको आरोप लगाएको छ ।

दाहालले पनि पछिल्लो समय आफूनिकट नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उनले खासगरी रामबहादुर थापालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । थापा ओली नेतृत्वको सरकारलाई हटाउन नहुने र पार्टी विभाजन गरेर जान नहुने अडानमा रहँदै आएका छन् । थापाले पार्टी एकता मजबुत पार्न भन्दै चारबुँदे प्रस्ताव अघि सारेपछि दाहालले उनीसँग यसै साता मात्र दुईपटक छलफल गरिसकेका छन् । त्यस्तै थापा समूहका पम्फा भुसाल र देव गुरुङलाई पनि आफ्नो पक्षमा पार्न दाहालले कसरत गरिरहेका छन् ।

दाहालले टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापालगायतलाई पनि फकाएर भड्काउमा नलाग्न आग्रह गर्दै आएका छन् । केन्द्रीय कमिटी बैठकलगत्तै दाहालले आफ्नो समूहको भेला भेटघाट र छलफलको तयारी गरिरहेको स्रोतको दाबी छ ।

ओली समूहले भने निरन्तर आफ्ना गतिविधि अघि बढाइरहेको छ । केन्द्रीय सदस्यहरू, पार्टी प्रदेश कमिटी र जिल्ला तहका नेताहरूसँग ओली समूहका नेताहरूको निरन्तर छलफल र भेटघाट हुने गरेको छ । दाहाल–नेपाल समूहले त मदन भण्डारी फाउन्डेसनका नाममा ओली पक्षले गुट भेला गरेको आरोप लगाइरहेको छ । केही समययता काठमाडौंलगायत विभिन्न जिल्लामा ओली समूहका केही नेताले फाउन्डेसनका नाममा राजनीतिक प्रशिक्षण दिएको आरोप दाहाल–नेपाल समूहले लगाएको छ । ‘फाउन्डेसनका नाममा हुने कुनै कार्यक्रम नरोक्नू भन्ने हामीलाई निर्देशन छ,’ ओली समूहका एक नेताले भने । यसअघिका केही कार्यक्रममा सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित