शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अब टोल–टोलमा कोभिड सहजीकरण समूह

दैनिक नेपाल २०७७ मंसिर १२ गते ७:१८

काठमाडौं, १२ मंसिर । काठमाडौं उपत्यकालगायत अन्य जिल्ला तथा अन्य व्यापारिक केन्द्रमा कोरोना संक्तमणको दर बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वडाध्यक्षलाई पूर्ण अधिकारसहितको कोभिड सहजीकरण समूह परिचालनसम्बन्धी मार्ग निर्देशन जारी गरेको छ ।

मार्ग निर्देशनमा संक्रमण दरलाई घटाउन जनसहभागितामा रोग रोकथाम तथा नियन्त्रण क्रियाकलाप सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

कोभिड नियन्त्रण गर्न हरेक टोलमा कम्तीमा एउटा समूह गठन गर्ने, एक समूहले बढीमा ५० घरको निगरानी गर्ने, टोल सुधार, क्लब उपभोक्ता समिति, गुठीमार्फत परिचालन गर्ने मार्ग निर्देशनमा उल्लेख छ । मन्त्रालयले उपत्यका मेयर फोरम, विभिन्न स्थानीय निकायसँगको परामर्शमा मार्ग निर्देशन तयार गरेको हो ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न मार्गनिर्देशन जारी गरेको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले मार्ग निर्देशन जारी गरेलगत्तै सबै वडामा समूह गठन गर्न शुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार सबै वडाका समूह, टोल सुधार समिति, क्लबलगायत संस्थासँग आबद्ध पदाधिकारीसहितको समूह गठन गरी परिचालन गरिनेछ ।

मार्गनिर्देशनमा कोभिडको विषयमा समुदायस्तरमा जनचेतना फैलाउने, क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिहरुको मापदण्ड पालना गरे नगरेको विषयमा निगरानी गर्न समूह गठन गरिएको उल्लेख छ ।

सबै वडाले समिति गठन गरी सोही समितिमार्फत निगरानी गर्ने, अनुगमन गर्ने, क्वारेन्टाइन, आइसोलेसनको अवस्थाबारे जानकारी लिने, टोलमा अनावश्यक भीडभाड र भेला नगर्न सचेत गराउने, ६० वर्षभन्दा माथिका दीर्घरोगीलाई घरबाहिर नजान र जानै परेको अवस्थामा अनिवार्यरुपमा मास्क प्रयोग गर्न सहजीकरण गर्ने मार्गनिर्देशनमा उल्लेख छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित