बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित

दैनिक नेपाल २०७७ मंसिर १२ गते ७:१६

ललितपुर, १२ मंसिर । कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसिंह अवतार देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । नाच सञ्चालनका लागि बिहीबार धार्मिक विधिपूर्वक नाट्येश्वरीको पूजा गरिएको छ ।

कोरोना महामारीका कारण १२ दिनसम्म देखाइने नाच यसपटक दुई दिनमा सीमित गर्न लागिएको समितिका कार्यकारिणी सदस्य एवं प्रचारसंयोजक सञ्जय शर्माले बताउनुभयो । धार्मिक विधि र सांकेतिकरुपमा परम्परा निर्वाहका लागि नाचलाई छोट्याएर दुई दिनमा मात्र सीमित गरिएको संयोजक शाक्यको भनाइ रहेको छ ।

आज बेलुका बराहले शिरमा नयाँ मुकुट लगाएर बराह अवतार देखाइनेछ । धेरै पुरानो र जीर्ण भइसकेकाले मुकुट फेर्न लागिएको हो । कार्तिक नाचअन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो । सो नाचमा इन्द्रगण र देवगणसहित बराह अवतार देखाइनेछ ।

ललितपुर महानगरपालिका–१६ वडाले नयाँ मुकुटको लागि लाग्ने सम्पूर्ण खर्च बेहोरेको कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचार संयोजक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

‘अहिले प्रयोग गर्दै आएको मुकुट कति वर्ष पुरानो भनेर यकिन गर्न सकेको छैन तैपनि हामीले सुनेअनुसार अहिलेको मुकट सय वर्षभन्दा बढी भइसकेको अनुमान गर्न सकिन्छ।’ –संयोजक शर्माले भन्नुभयो ।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो । सोही वडाले कार्तिक नाचको अक्षयकोषका लागि शुक्रबार नै १० लाख रुपियाँको चेक हस्तान्तरण गर्न लागिएको छ । कार्तिक नाचको निरन्तरताका लागि गत वर्ष प्रतिबद्धता व्यक्त गरेअनुरुप चेक हस्तान्तरण गर्न लागेको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । सुनील महर्जनले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित