शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बर्दिबास मृत्यु प्रकरण: मृत्यु भएका सञ्जयलाई शहिद घोषणा गर्न माग, निषेधाज्ञाकै बीच प्रदर्शन

दैनिक नेपाल २०७७ मंसिर १० गते १४:३९

काठमाडौँ, १० मंसिर । महोत्तरीको वर्दिबासकी ६ वर्षीया बालिकाको हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपाने (बुद्धिराज)लाई सहिद घोषणा गर्नुपर्ने माग गरिएको छ ।

सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

६ वर्षीया बालिका गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको थियो ।

घटनामा संलग्नको आरोपमा प्रहरी नियन्त्रणमा रहेका आरोपित अरुण कुमार साहलाई कडा कारबाही गर्दै स्थानीयले मंगलबारदेखि नै प्रदर्शन गरिरहेका छन् ।

आन्दोलन नियन्त्रणमा लिन मंगलबार प्रहरीको गोली लागेर संजय न्यौपाने घाइते भएका थिए । उनको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएपछि आन्दोलनकारीले निषेधाज्ञाकै बीच प्रदर्शन जारी राखेका हुन् ।

निषेधाज्ञाका बीच प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन् भने दर्जनौँ सवारी साधन समेत तोडफोड गरेका छन् । नारावाजी गर्दै प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् ।

उनीहरूले बालिकाको हत्यारालाई कडा कारबाही गर्नुपर्ने, प्रहरी दमन अन्त्य गर्नुपर्ने, गोली चलाउने प्रहरी र गोली चलाउन आदेश दिनेलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।

त्यस्तै, सर्वपक्षीय बैठकले मृतक न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै, गोली चलाउन आदेश दिने र चलाउनेलाई पनि कारवाही गर्नुपर्ने माग गरेका छन् भने क्षतिपूर्तिको पनि माग राखेर प्रदर्शन भइरहेको छ ।

माग पूरा गराउन ११ सदस्यीय वार्ता टोली पनि गठन गरिएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीमा बस्ने सहिद आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कार पछि हत्या भएको स्थानीयको दावी छ । यद्यपि प्रहरीले भने बलात्कार भए नभएको बताइसकेको छैन ।

घटनाको विरोधमा उत्रेको भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए । जसमध्ये सञ्जयको काठमाडौँ ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित