२ कार्तिक २०८३, सोमबार

अहिलेको अन्तरविरोधकै कारण नेकपा फुट्दैन : रायमाझी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् ।

आज मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस या ठूलो अन्तरविरोध निरन्तर भइरहन्छन् । यो सर्वमान्य कुरा हो । अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ । एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ ।’

उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भइसकेकाले त्यसमा छलफल हुने पनि बताए । ‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्नेगरी प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ । सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ’, उनले भने, ‘ म दावीका साथ भन्छु– यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन् । किनभने यसका पछि कारण छन् ।’

यतिवेला नेकपा विभाजन भयो भने नेकपामात्रै नभई अहिलेसम्को संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा रहेको उनले औंल्याएका छन् ।

उनले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता÷कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने बताए । ‘यसको असर त प्रतिपक्षलाई पनि पर्छ । नेकपा नफुट्न जनदबाब छ । देशभरिका कार्यकर्ता पँक्तिले पार्टी फुटे नेताहरुलाई समर्थन हुँदैन भनेका छन् । जनताका आकांक्षा धरायशी हुन्छन, ध्वस्त हुन्छन् भनेका छन् । नेपाली कांग्रेसका साथीहरुले पनि हामीलाई मेहनत गर्न सुझाव दिनुभएको छ, नेकपा फुटे व्यवस्था नै धरायशी हुन्छ भनेर चिन्ता गरिरहेका छन्’, उनले भने ।

रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनै पनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास दिलाए । ‘हामी एकै ठाउँमा उभिएर निष्कर्ष निकाल्छौं । पार्टीभित्रको शक्ति सन्तुलन, सबै विषयलाई केलाएर एकीकृत रुपमा छलफल गर्छौं । हामी निश्कर्षमा पुर्याउँछौं । यो पार्टी फुट्छ भन्ने हल्ला छ, तर मलाई फुट्छ भन्नेमा विश्वास छैन् । यो वा त्यो रुपमा फुटको पक्षमा उभिने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, दुश्मनीपूर्ण संघर्षमा लैजाने काम कसैबाट पनि हुनुहुन्न’, रायमाझीले भने ।

उनले अगाडि बनेका छन, ‘अब पूर्व एमाले वा पूर्व माओवादीतिर फर्कने होइन । हामी एकताको अभियान लिएर हिँड्नुपर्छ । म नेकपाको झण्डा लिएर अघि बढ्न आम नेता तथा कार्यकर्तालाई आह्वान गर्न चाहन्छु । अस्वस्थ, अभद्र, अशिष्ट व्यवहार गर्ने होइन, बरु नेताहरुलाई एकताको लागि खबरदारी गर्नुपर्छ । अधिकारको दृष्टिकोणले नेता तथा कार्यकर्ता सबै बराबर हो ।’

अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गइसकेकाले त्यसमाथि विधिसम्मत रुपमा छलफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले भने, ‘आरोप कति सत्य छन् ? कति छैनन ? भनेर त्यो छलफलमा केलाउनुपर्छ । ओलीजीले पनि प्रतिवेदन ल्याउनुहुन्छ । के हुन्छ ? भन्नेबारे अहिले नै भविष्यवाणी नगरौं । प्रतिवेदनलाई सकारात्मक रुपमा अध्ययन गर्छौं र निकास निकाल्छौं ।’