२ कार्तिक २०८३, सोमबार

हात्तीको आक्रमणबाट पतिको मृत्यु, पत्नीले भागेर ज्यान जोगाइन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, ८ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

पत्नी विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरको दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । चेपाङकी पत्नीले भने भागेर ज्यान जोगाएकी छन् । हात्तीको आक्रमणबाट चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जले चेपाङ कुनै अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ ।

योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो । रासस