बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तारका लागि मन्त्री भट्टद्वारा स्थलगत अनुगमन

दैनिक नेपाल २०७७ मंसिर ७ गते २१:०५

काठमाडौं, ७ मंसिर । सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तारका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेस्थित शिवशक्ति महिला सामुदायिक वनको मातहतमा रहेको करिब ३० विघा जग्गा प्राप्त गर्न आइतबार संघीय मन्त्री भट्टसहितको टोलीले प्रारम्भिक स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल, नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख तथा कर्मचारी, स्थानीय जनप्रतिनिधिहरु र शिवशक्ति महिला सामुदायिक वनकी अध्यक्ष हिरा शाहीलगायत सहभागी थिए ।

नेपाल सरकार तथा आयल निगमको घोषित नीति तथा कार्यक्रमअन्र्तगत कम्तीमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता वृद्धि गर्ने उद्देश्यसहित सो अवलोकन भ्रमण गरिएको धनगढीस्थित नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख चितरञ्जन दासले जानकारी दिए ।

स्थलगत अनुगमनसँगै भण्डारण क्षमता विस्तारको आवश्यक प्रक्रिया अगाडि बढेको पनि दासले बताएका छन् । सुदूरपश्चिममा न्यून मात्रामा भण्डारण क्षमता रहेको र पेट्रोलियम पदार्थको बढ्दो मागलाई धान्न डिपोको क्षमता विस्तारका लागि सो सामुदायिक वनको जग्गा उपयुक्त हुने निष्कर्षमा पुगेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित