शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

घुस लेनदेन हुने देशको सूचीमा नेपालको ९ स्थान सुधार

दैनिक नेपाल २०७७ मंसिर ७ गते १२:१५

काठमाडौं, ७ मंसिर । घूस लेनदेन व्यापक हुने देशको सूचीमा नेपालले अघिल्लो वर्षको तुलनामा ९ स्थान सुधार गरेको छ ।

कूल १९४ देशहरुमा भएका भ्रष्टाचारजन्य घटनाहरुको विश्लेषणका आधारमा तयार पारिएको सूचीमा नेपाल १०७औं स्थानमा रहेको ट्रेस ब्राइबरी रिस्क म्याट्रिक्सले देखाएको छ ।

यद्यपि नेपालले २ वर्षअघि हासिल गरेको स्थान भने गुमाएको छ र अहिले पनि त्यो स्थानमा आइपुग्न सकेको छैन । नेपाल सन् २०१८ को मेट्रिक्समा २०० वटा देशहरुको सूचीमा १०३औं स्थानमा थियो । त्यसको एक वर्षअघि २०१७ मा २०० देशको सूचीमा नेपाल ११०औं स्थानमा थियो । गएको वर्ष २०१९ मा नेपाल धेरै खस्किएर २०० देशको सूचीमा ११६औं स्थानमा पुगेको थियो । सन् २०२० मा नेपालले आफ्नो स्थिति सुधार गर्दै १०७औ स्थानमा आइपुगेको छ ।

२०२० को सूचीमा शीर्ष स्थानमा अर्थात सबैभन्दा कम घुस लेनदेन हुने देशको रुपमा डेनमार्क परेको छ । दोस्रोमा नर्वे, तेस्रोमा फिनल्याण्ड, चौथोमा स्वेडेन, पाँचौंमा न्यूजिल्याण्ड, छैटौंमा नेदरल्याण्ड, सातौंमा स्वीजरल्याण्ड, आठौंमा जर्मनी, नवौंमा बेलायत र दशौंमा आइसल्याण्ड छन् ।

नेपालका छिमेकी देशहरु भारत ७७औं स्थानमा, चीन १२६औं स्थानमा, भुटान ४८औं स्थानमा, पाकिस्तान १५३ औं स्थानमा, बंगलादेश १६६औं स्थानमा र श्रीलंका ८७औं स्थानमा छन् । माल्दिभ्सलाई सूचीमा समावेश गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित