शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना भाइरस रोक्ने खोपलाई अनुमति दिन फाइजरद्वारा अमेरिकी निकायमा आवेदन

दैनिक नेपाल २०७७ मंसिर ६ गते २२:२१

काठमाडौं, ६ मंसिर । फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा शुक्रबार आवेदन दिएका छन् ।

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्ने छ । उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन ।

यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ । त्यसमध्ये यो वर्षको अन्त्यसम्म उसलाई एक करोड वटा खोप उपलब्ध भइसक्नुपर्ने छ ।

अमेरिकामा खोपको कति आवश्यकता छ भन्ने कुरा कोरोना भाइरसका कारण बिहीबार ठूलो सङ्ख्यामा भएको मृत्युले देखाउँछ । जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा २,००० भन्दा बढीको मृत्यु भएको थियो ।

कहिलेसम्म खोप उपलब्ध होला ?

यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक ‘केही घण्टाभित्रै खोप वितरण गर्न तयार’ भएको उनीहरूले बताएका छन् । विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोना भाइरसको आनुवंशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ ।

सामान्यता अमेरिकामा कुनै नयाँ खोप स्वीकृतिका लागि औसत समय आठ वर्ष रहँदै आएको छ । फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरे ।

सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्ने छ । युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले पनि खोप यो वर्षको अन्त्यसम्म उपलब्ध हुन सक्ने बताएकी छन् ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनमा कार्यरत प्राध्यापक स्टीफन इभान्सले एफडीए र युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले ‘एकदमै सावधानीपूर्वक मूल्याङ्कन गर्ने’ बताए ।

बीबीसीकी स्वास्थ्य संवाददाता नाओमी ग्रीम्लीका अनुसार यो खोपको व्यापक प्रयोगका लागि अझै धेरै कुर्नुपर्ने छ ।

उनी भन्छिन्, ‘किनभने यसलाई अवलम्बन गर्न पहिला कहिल्यै स्वीकृति नपाएको प्रयोगात्मक प्रविधि चाहिन्छ ।’

यो खोप कति प्रभावकारी छ ?

यसै साता सार्वजनिक भएको विवरणहरूले फाइजर र बायोएनटेक खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको दाबी गरेका छन् ।

यसको प्रभावकारिता सबै उमेरसमूहमा एकरूपता रहेको छ । परीक्षणमा जोखिममा रहेका वयस्क र जातजाति तथा फरक लिङ्गलाई बढी महत्त्व दिइएको थियो ।

परीक्षणका क्रममा खोप दिइएका मानिसमा सामान्यदेखि मध्य र छोटो समयका लागि अन्य प्रभाव पनि देखा परेका थिए ।

मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो ।

खोप लिएपछि कोरोना भाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टिबडी र टी–सेलहरू आफैँ बनाउँछ ।

यो सातामात्रै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ५० हजार नाघ्यो जुन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै सङ्ख्या हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वव्यापी महामारी सुरु भएयता त्यहाँ पुष्टि भएको विगतका सातामा सङ्क्रमित पुष्टि हुने र मृत्यु हुने सङ्ख्या पनि अमेरिकामा बढ्दै गएको छ ।

अरू खोपको स्थिति के छ ?

अमेरिकी कम्पनी मोर्डनाको तथ्याङ्कअनुसार उसले बनाएको खोपले पनि ९५ प्रतिशत सुरक्षा दिन्छ । यसले पनि एमआरएनए विधि नै अपनाएको हो । खोप विकास गर्नेमा यो पनि फाइजर/बायोएनटेक खोपभन्दा त्यति धेरै पछाडि नरहेको ठानिएको छ ।

अक्स्फर्ड यूनिभर्सिटी/एस्ट्राजेनेका खोप पनि परीक्षणकै क्रममा छ र यसले राम्रा परिणामहरू देखाएका छन् । यूकेले आफूले उक्त खोपको एक करोड मात्रा लिने बताइसकेको छ ।

रुसमा बनाइएको अर्को खोपको परीक्षण पनि उत्साहवर्धक देखिएको छ । यसले अक्स्फर्ड खोपले जस्तै काम गर्छ । चीन र रुसमा अरू खोपहरू पनि परीक्षणको अन्तिम चरण छन् । बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित