सोमबार, १५ मंसिर २०७७
DainikNepal.com
सोमबार, १५ मंसिर २०७७

पाँडे र पौडेललाई भैरव पुरस्कार, जोरपाटी चोककमा पूर्ण कदको शालिक निर्माण गरिने

दैनिक नेपाल २०७७ मंसिर ६ गते १८:४१

काठमाडौं, ६ मंसिर । नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार यो वर्ष रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले शनिबार गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गरेका हुन् । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशी क्रमशः १ लाख र ५० हजार रुपैयाँ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्ण कदको ढलोटको शालिक राखिने घोषणा गरेका छन् । पु्रस्कृत स्रष्टा रामकुमार पाँँडे विदेशमा रहेकाले प्रतिनिधिको रुपमा उनको पुरस्कार ग्रहण गरेका डा. यादव ढुंगानाले हास्यव्यङ्ग्य साहित्यमा पाँडेको योगदानको चर्चा गरेका थिए ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कृत स्रष्टा राजाराम पौडेल नेपाली हास्य कला क्षेत्रका अमूल्य निधि भएको बताए । यस्तै वरिष्ठ साहित्यकार विजय चालिसेले नेपाली हास्य व्यङ्ग्य साहित्यलाई उर्वर बनाउने काम भैरव अर्यालले गरेको स्मरण गरे ।

चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डा. खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको छनोट समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

भैरव पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले २०४६ सालदेखि प्रत्येक २–२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा स्रष्टाहरु गोविन्द घिमिरे ‘वेदमणि’, गोपाल बराल, विमल अर्याल, उद्धव रायमाझी लगायतले नेपाली साहित्यमा अर्यालको योगदान बारे उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित