शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

४१७ मेगावाट क्षमताको नलगाड जलविद्युतको काम अगाडि बढाउन मन्त्रीहरूबीच छलफल

डीपीआरको काम तत्काल सक्न सम्बद्ध निकायलाई ऊर्जामन्त्री पुनको निर्देशन

दैनिक नेपाल २०७७ मंसिर ६ गते १६:११

काठमाडौं, ६ मंसिर । ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको काम अगाडि बढाउन दुईजना संघीयमन्त्री र कर्णालीका मुख्यमन्त्रीबीच शनिबार काठमाडौंमा छलफल भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, जाजरकोटका प्रतिनिधिसभा सदस्य समेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, ऊर्जा मन्त्रालयका सह–सचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त तथा कार्यकारी अधिकृत रामगोपाल लगेजुले यससम्बन्धी छलफल गरेका हुन् ।

छलफलका क्रममा ऊर्जामन्त्री पुनले जाजरकोटमा बन्न लागेको ४१७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सक्न सम्वद्ध निकायलाई निर्देशन समेत दिएका छन् । ४ वर्षभन्दा लामो समयदेखि डीपीआरको काम जारी रहे पनि अझै सकिएको छैन ।

एमडब्ल्यूएच कन्सल्टेन्टले ३२ महिनाभित्र डिपीआर सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । त्यसयता पटकपटक म्याद थप हुँदै आएको छ । मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डीपीआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिएका छन् ।

नलगाड आयोजना क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा हुने मन्त्री पुनको भनाइ छ । मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको पनि बताएका छन् ।

जापानी सहयोग नियोग (जाइका) ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै मन्त्री पुनले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको जानकारी पनि सो अवसरमा दिएका छन् ।

यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुनेमा जोड दिए । सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले आयोजना निर्माणको काम अघि बढाउन संघ, प्रदेश, स्थानीय तह र स्थानीय प्रभावित क्षेत्रका जनताबीच समन्वयको काम गर्ने उल्लेख गरेका छन् ।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । छलफलमा कम्पनीका अध्यक्ष मोहनराज पन्तले कन्सल्टेन्टसँग समन्वय गरेर डीपीआरको काम तत्काल सक्ने जानकारी दिए ।

नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ । ६ किलोमिटरको जलासय र २१० मिटर अग्लो ड्याम तथा ८.२ किलोमिटर लामो सुरुङ बन्ने छ । बाँधस्थलदेखि विद्युत्गृहसम्मको पहुँच मार्ग निर्माणको काम यसअघि नै सकिएको छ ।

यस्तै कूल ४ हजार ६०५ रोपनी जमीनका लागि वितरण गरिनुपर्ने २ अर्ब ७६ करोडमध्ये २ अर्ब ५० करोड रूपैयाँ मुआब्जा पनि वितरण गरिसकिएको छ । यो कूल मुआब्जाको करिब ९० प्रतिशत हो । ठूलो भेरी नदीको शाखा नदीमा बन्ने आयोजना निर्माणका लागि १४२ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित