बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनाको उपचार छैन, नियन्त्रण गर्न सरकारले अधिकतम प्रयत्न गरेको छ : स्वास्थ्यमन्त्री ढकाल

दैनिक नेपाल २०७७ मंसिर ६ गते १५:३७

काठमाडौं, ६ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विद्यमान कोरोना संक्रमणको उपचार नभएकाले नियन्त्रणमा सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले कोरोनाको उपचार नभएकाले यसको नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मी सँगै सांसद, स्थानीय जनप्रतिनिधि र जनताको भूमिका जरुरी हुने पनि बताएका छन् ।

‘सरकारले सुरुमा जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको थियो’, मन्त्री ढकालले भने, ‘तर, नेपालमा हालसम्म १६ लाख ५० हजारको कोरोना परीक्षण भइसकेको छ। अहिलेको अवस्थालाई हेर्दा करिब दुई प्रतिशत नेपाली संक्रमित हुनसक्ने अनुमान गरेर सरकारले तयारी गरिरहेको छ ।’

संघ तथा प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति र सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको जानकारी मन्त्री ढकालले दिएका छन् ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड–१९ पछाडिको विज्ञान बारे सांसदहरू बीच प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिडसम्बन्धी अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिकाबारे प्रस्तुतिकरण दिएका थिए ।

स्वास्थ्य संगठनका विज्ञहरूले सरकारले बिरामीको परीक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वारेन्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी सबै व्यक्तिको दायित्वका रुपमा भौतिक दूरी कामय गर्ने, मास्कको उचित प्रयोग गर्ने र बेला बेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको वर्तमान अवस्था र सरकारले गरिरहेको तयारीबारे जानकारी गराएका थिए ।

यस्तै संघीय संसद राष्ट्रिय सभाको संयोजन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेशको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रमलाई विश्व स्वास्थ्य संगठनले प्राविधिक सहयोग गरेको हो ।

यसअघि प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेशसभा सदस्यको सहभागिता अन्तर्क्रिया कार्यक्रम सम्पन्न भइसकेको छ भने मंसिर ८ गते लुम्बिनी प्रदेश र १६ गते प्रदेश १ मा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित