बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोनाबारे सचेतना फैलाउन जनप्रतिनिधि घर–घरमा पुगौं : अध्यक्ष तिमिल्सिना

दैनिक नेपाल २०७७ मंसिर ६ गते १५:२४

काठमाडौं, ६ मंसिर । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताएका हुन् ।

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्’, बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उनले भने, ‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो ।’

उनले कोरोनाको महामारी सुरु हुँदा र अहिले लाखौंको संख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भएकाले परिस्थितिअनुसार सरकारले योजना बनाउनुपर्ने बताएका छन् । त्यसैगरी जनप्रतिनिधिले पनि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यन्वयनमा साथ दिनुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्नै आग्रह गर्यौं’, उनले भने, ‘अहिले संक्रमण लाखौंमा पुगिसकेको र उपचार नभएको अवस्थामा जनप्रतिनिधिले भोट माग्न पुगेजस्तै घर–घरमा जनचेताना फैलाउन पुग्न जरुरी छ ।’

महामारीलाई नियन्त्रण सम्बन्धि सचेता फैलाउनका लागि राजनीतिक दलले आफ्ना संगठनहरूलाई पनि गाउँ–गाउँमा परिचालिन गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । ‘आपत परेको बेला हामी जनतामा पुगेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ’, उनले भने, ‘राजनीतिक दल सँगै नागरिक समाज र निजी क्षेत्रले पनि महामारी नियन्त्रणका लागि सकारात्मक सहयोग गर्न सक्दछ ।’

कोरोना विकसित मुलुकमा समेत भयावह भइरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पैसाले नभई स्वास्थ्य मापदण्डको पालना गर्दा कोरोना नियन्त्रण हुने बताएका छन् ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड–१९ पछाडिको विज्ञान बारे सांसदहरू बीच प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिडसम्बन्धी अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिकाबारे प्रस्तुतिकरण दिएका थिए ।

स्वास्थ्य संगठनका विज्ञहरूले सरकारले बिरामीको परीक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वारेन्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी सबै व्यक्तिको दायित्वका रुपमा भौतिक दूरी कामय गर्ने, मास्कको उचित प्रयोग गर्ने र बेला बेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको वर्तमान अवस्था र सरकारले गरिरहेको तयारीबारे जानकारी गराएका थिए ।

यस्तै संघीय संसद राष्ट्रिय सभाको संयोजन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेशको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रमलाई विश्व स्वास्थ्य संगठनले प्राविधिक सहयोग गरेको हो ।

यसअघि प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेशसभा सदस्यको सहभागिता अन्तर्क्रिया कार्यक्रम सम्पन्न भइसकेको छ भने मंसिर ८ गते लुम्बिनी प्रदेश र १६ गते प्रदेश १ मा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित