लहान, ६ मंसिर । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् ।
शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका–५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।
दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । रविनमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल बरामद भएको छ । सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।
आफ्ना छिमेकी ४२ वर्षीय विनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले विनोदको कन्चटमा पेस्तोल ताकेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।











प्रतिक्रिया