शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

२५ वर्ष पुरानो शौचालयको पुनर्निर्माण

दैनिक नेपाल २०७७ मंसिर ५ गते ७:२७

ललितपुर, ५ मंसिर । ललितपुर महानगरपालिकाको मंगलबजारमा अवस्थित २५ वर्ष पुरानो सार्वजनिक शौचालय पुनर्निर्माण गरिएको छ । सुविधा सम्पन्न बनाइएको यो शौचालय लैंगिक तथा अपागंतामैत्री छ ।
ललितपुर महानगरपालिकाले एरोसान कम्पनीसँग सहकार्य गरेर यो शौचालय बनाएको हो । विश्व शौचालय दिवसको अवसरमा यो शौचालयको बिहीबारबाट शुरु गरिएको हो ।

सार्वजनिक शौचालय भन्नेबित्तिकै फोहोर, दुर्गन्धित र अव्यवस्थित रुप जो कोहीको पनि दिमागमा आउँछ । तर, यो शौचालयले सार्वजनिक शौचालयबारे आममानिसको मस्तिष्कमा रहेको छापलाई परिवर्तन गर्न सहयोग गर्छ ।

शौचालय जाँदा सिक्का लिएर जानुपर्छ । शौचालयको भित्तामा रहेको बक्समा सिक्का छिराएपछि शौचालयको ढोका खुल्छ । शौचालयमा प्रयोग गरिएको प्यान पनि विशेष किसिमको छ । उठ्न बस्न गाह्रो हुँदैन । ‘सार्वजनिक शौचालयमा कमोड सफा राख्न गाह्रो हुन्छ, त्यसैले प्यान नै राख्यौं’ –एरोसानका प्रमुख प्रकाश अमात्यले बताउनुभयो । शौचालयबाट बाहिर निस्कँदा डिजिटल बोर्डमा हात देखाउनुपर्छ । त्यसपछि बाहिर निस्कने संकेत प्राप्त हुन्छ ।

त्यसपछि मात्र बाहिर निस्कन सकिन्छ । ट्वाइलेटको प्रयोगपछि हात धुनका लागि झोल साबुन र पानीको व्यवस्था गरिएको छ । चिसो हात सुकाउन ह्यान्ड ड्रायर राखिएको छ । त्यत्ति मात्रै कहाँ हो, यो शौचालयमा स्यानिटर प्याडको समेत व्यवस्था छ । ६ रुपियाँ तिरेपछि प्याड प्राप्त गर्न सकिन्छ । प्रयोग भइसकेको उक्त प्याड विर्सजनको विशेष व्यवस्था गरिएको छ ।

शौचालयको औपचारिक शुभारम्भ कार्यक्रममा पुग्नुभएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यो नमुना सार्वजनिक शौचालय भएको बताउनुभयो । सार्वजनिक शौचालय स्मार्ट शहरको एउटा तत्व भएको बताउँदै मंगलबजारको जस्तै सार्वजनिक शौचालय महानगरका अन्य ठाउँमा समेत व्यवस्था गर्ने उहाँले बताउनुभयो । उहाँले महानगरपालिकाले मोबाइल शौचालयसमेत भिœयाउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘तीनवटा मोबाइल शौचालयहरु महानगरले ल्याइसकेको छ ।’

मोबाइल शौचालय जात्राहरुमा, पर्यटकीय स्थल र धेरै मानिसको आवतजावत हुने ठाउँमा राखिने उहाँले बताउनुभयो । एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख प्रकाश अमात्यले यो शौचालय पुनर्निर्माण गर्नका लागि करिब २५ लाख रुपियाँ लागेको बताउनुभयो । उक्त शौचालयबाट बायोग्यास निकालिएको छ । उक्त ग्यासबाट शौचालयका सञ्चालकहरुले चियाखाजा पकाउँछन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित