आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सहकारीमा करसम्बन्धी गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न

दैनिक नेपाल २०७७ मंसिर ४ गते १९:०९

बागलुङ, ४ मंसिर । राष्ट्रिय सहकारी बैंकको आयोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशको प्राविधिक सहयोगमा सहकारीमा करसम्बन्धी गण्डकी प्रदेशस्तरीय एकदिने अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

सहकारीमा करसम्बन्धी व्यवस्था र कर भुक्तानका प्राविधिक पक्षमा जानकारी दिई सहकारी संस्था सञ्चालनमा सहजता प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा बैंकले सहकारी व्यवस्थापन, लेखा तथा करलगायत विषयमा नियमित रूपमा सहजीकरण गर्दै आएको बैंकका अध्यक्ष केबी.उप्रेतीले जानकारी दिए । सहकारी व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित गराउनका लागि कार्यक्रम सहयोगी हुने धारणा उनको छ ।

कार्यक्रममा सहकारीका सम्बन्धमा विद्यमान करका व्यवस्थाहरू विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशका सचिव चन्द्रकला पौडेलले सहजीकरण गरेका थिए । सो अवसरमा सचिव पौडेलले कर प्रणालीका बारेमा जानकारी लिनका लागि कार्यक्रम सहयोगी हुने बताए ।

कर प्रणालीलाई बुझेर काम गर्न सकियो भने जरीवाना र ब्याजको झन्झट नहुने उनको भनाइ छ । सहकारी व्यवसाय सञ्चालन गर्दा भुक्तान गर्नुपर्ने करका दायराहरू र छूट लगायत विषयमा उनले जानकारी गराएका थिए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार प्रेमप्रसाद ढकालले कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सहकारी बैंकले सहकारीको प्रवद्र्धनका क्षेत्रमा नियमित समन्वकारी भूमिका निर्वाह गरेको बताए । बैंक र विभागबीच सहकार्य गरेर सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्न विभाग सदैव तयार रहेको धारणा उनले व्यक्त गरे ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तनहुँका कम्प्युटर अधिकृत रामप्रसाद पोखरेलले कर भुक्तान र दाखिला सम्बन्धमा सहजीकरण गरेका थिए । कार्यक्रमका सहजकर्ता तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी संस्था सञ्चालनका क्रममा आउन सक्ने करसम्बन्धी समस्या समाधानका लागि कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन बैंकको दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित