
काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना प्रकट गरेका छन् ।
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व ‘छठ पर्व’का अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि देउवाले कामना गरेका छन् ।
‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो’, बिहीबार शुभकामना सन्देश जारी गर्दे देउवाले भनेका छन्, ‘प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् ।’
मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त बनेकाले संक्रमण नियन्त्रण तथा रोकथामका लागि नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको उनले बताउँदै उनले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दूरी कायम गरेर पर्व मनाउन आग्रह समेत गरेका छन् ।















प्रतिक्रिया