शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकामा केही हप्ताभित्रै कोरोनाविरुद्धको भ्याक्सिन आउने दावी

दैनिक नेपाल २०७७ मंसिर ४ गते १२:४३

काठमाडौँ, ४ मंसिर । अमेरिकामा अब केही हप्ताभित्र कोरोनाविरुद्धको भ्याक्सिन आउने बताइएको छ ।

अमेरिकामा कोरोनाका कारण सबैभन्दा धेरै साढे २ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १.१५ करोड पुगिसकेको जोन होपकिन्स युनिभर्सिटीले जनाएको छ ।

अमेरिकी स्वास्थ्य विभागले अबको केही हप्ताभित्र दुई भ्याक्सिनलाई अधिकृत गरिने बताएको छ । जसका कारण यो वितरणको लागि तयार हुने बताइएको बीबीसीले जनाएको छ ।

अमेरिकी औषधी कम्पनी फाइजर र यसको सहयोगी जर्मन कम्पनी बायोएनटेकले अमेरिकामा भोलिका दिनमा कोभिड–१९ भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिनका लागि आवेदन दिएको छ ।

फाइजरका अनुसार ४० हजारभन्दा बढी मानिसहरुमा गरिएको ट्रायलका अनुसार यो भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी छ र यसका कुनै गम्भीर नकारात्मक प्रभाव पनि देखिएको छैन ।

बायोएनटेकका मुख्य कार्यकारी अधिकारीका अनुसार युरोपेली संघमा डिसेम्बरको मध्यसम्म भ्याक्सिनले सशर्त स्विकृति पाउने सम्भावना छ ।

यसबाहेक अमेरिकी औषधी कम्पनी मोडर्नाले पनि उसको भ्याक्सिन त्यति नै प्रभावकारी भएको बताउँदै वर्षको अन्त्यसम्म उपलब्ध हुने बताएको छ ।

अमेरिकामा कोरोनाको नयाँ लहर सुरु भइसकेको छ भने दिनहुँ हजारौँको संख्यामा संक्रमित थपिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित