
काठमाडौं, २८ कात्तिक । विवेकशील नेपाली दलले पार्टीको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा गरेको छ ।
विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ कात्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएको थियो ।
पार्टीले शुक्रबार दिएको जानकारी अनुसार कात्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) वा नगर्ने (नो) भनी मतदान गरेका थिए । मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको बताइएको छ ।
विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुईतिहार्इ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुन सक्छ । यसका लागि एकीकरण, सम्मिलन तथा सहकार्यसम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचारसंहिता बनाएर विधि र पद्धति बमोजिम तयारी गरेको बताएको छ ।
मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय प्रक्रियामा अगाढि बढेको हो ।
यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास छ ।















प्रतिक्रिया