२ कार्तिक २०८३, सोमबार

मंसिर ७ गते सरकारविरुद्ध आन्दोलन गर्न २२ दलले गरे कार्यगत एकता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्न विभिन्न २२ वटा दलले कार्यगत एकता गरेका छन् ।

उनीहरुले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध वृहत् प्रदर्शन गर्ने तयारी समेत गरेका छन् । २१ वटा दलको बैठकले वामपन्थी संगठन समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गरेपछि सरकारविरुद्ध आन्दोलन गर्ने दलको संख्या २२ पुर्याइएको हो ।

कार्यगत एकता गर्ने दलहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी छन् ।

यस्तै, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) पनि कार्यगत एकतामा सामेल छन् ।

उनीहरुले अमेरिकी संस्था एमसीसीसँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका ‘राष्ट्रघाती’ सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था लगायतका माग ती दलले अघि सारेका छन् ।

यस्तै, उनीहरुले निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरिएको सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसका निमित्त आगामी मंसिर ७ गते दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।