१ कार्तिक २०८३, आइतबार

प्रहरीको समायोजन प्रक्रिया लम्बियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषद्ले पास नगरिदिँदा समायोजन प्रक्रिया लम्बिएको हो ।

प्रहरी प्रधान कार्यालयले तयार पारेर गृह मन्त्रालय पठाएको ओएनएम गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भए पनि मन्त्रिपरिषद्को बैठकमा एजेन्डाले प्रवेश नपाएपछि अहिले समायोजन प्रक्रिया अलपत्र परेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार तीन महिनामा समायोजन प्रक्रिया सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ओएनएम पास नहुँदा प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री केपी ओलीले नै समायोजन प्रक्रियामा चासो नदिएको कारण ओएनएम पास नभएको गृहका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कठायतले समायोजनको आन्तरिक काम तीव्ररुपमा भइरहेको र मन्त्रिपरिषद्ले ओएनएम पास गर्नासाथ काम तीव्र गतिमा अघि बढ्ने जानकारी दिनुभयो ।

‘हामीले आन्तरिक तयारीलाई लगभग अन्तिम चरणमा पुर्‍याएका छौं ऐन नियम, कार्यविधि तयार भएकाले अव मन्त्रिपरिषद्ले ओएनएम पास गरेको भोलिपल्टबाट कामले गति लिन्छ।’ –एसएसपी कठायतले भन्नुभयो ।

ओएनएम स्वीकृत भए पनि प्रहरी कर्मचारी समायोजन गर्न डेढ महिना र पूर्ण समायोजनाका लागि कम्तीमा तीन महिना लाग्ने उहाँले बताउनुभयो । मुलुक संघीय संरचनामा परिवर्तन भएसँगै प्रहरीको समायोजन अत्यावश्यक रहेको उहाँले बताउनुभयो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।