आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

एनआईसी एशिया बैंकको २३ औँ वार्षिक साधारण सभा मंसिर २१ मा हुने

दैनिक नेपाल २०७७ कार्तिक २७ गते १८:५२

काठमाडौँ, २७ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा मंसिर २१ गते हुने भएको छ ।

कात्तिक २६ गते बसेको संंचालक समितिको ४६२ औँ बैठकको निर्णयअनुसार बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते बिहान ९ बजे काठमाडौँको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न हुने भएको छ ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आ.व. २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै गत आ.व. को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । वार्षिक साधारण सभालाई ध्यानमा राखी २०७७/०८/१० देखि २०७७/०८/२१ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनी महानुभावहरूलाई मिटिङ आइडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसरी उपस्थित शेयरधनी महानुभावहरूले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ ।

यसरी साधारण सभामा सहभागी भई मन्तव्य राख्न चाहनु हुने शेयरधनी महानुभावहरूले सभा सुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको शेयर प्रमाणपत्र/डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी कम्पनी सचिवको इमेल ठेगाना [email protected] मा ईमेल वा ९८५१२४५९१५ मा WhatsApp गर्नुपर्नेछ ।

कोरोना भाइरसको विषम परिस्थितिकाबीच सावधानीका साथ आयोजना हुन लागेको यस साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत आफ्नो दरिलो उपस्थिति जनाई भव्य रुपमा सफल बनाउनु हुन बैंक सम्पूर्ण शेयरधनी महानुभावहरूमा हार्दिक आह्वान पनि गरेको छ ।

यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित