मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बाङ्लादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ कार्तिक २७ गते १४:२५

काठमाडौं, २७ कात्तिक । मैत्रीपूर्ण खेल खेल्न बाङ्लादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । कोरोना देखिए पनि उनले बाङ्लादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बाङ्लादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल २ मंसिरमा खेल्ने कार्यक्रम तय भएको छ ।

नेपाली खेलाडीहरूको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । बाङ्लादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बाङ्लादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले सन् २०१८ मा बाङ्लादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बाङ्लादेशसँग खेलेको थियो ।

त्यसबेला नेपालले बाङ्लादेशलाई पराजित गरेको थियो । बाङ्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बाङ्लादेशको ढाकामा रहेका छन् । रासस 

प्रतिक्रिया
सम्बन्धित