
काठमाडौं, २७ कात्तिक । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । अर्थ मन्त्री विष्णु पौडेलले ट्विटरमार्फत केसीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिएका हुन् ।
पौडेलले लेखेका छन्– ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’
केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका उनको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
हाल केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले सहयोग गर्न समेत जनमोर्चाले अपिल गरेको छ ।
उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए ।
केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर, त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो । मंगलबार बुटवलबाट काठमाडौं आएका केसीलाई त्यही दिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।















प्रतिक्रिया