आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

साइकलयात्रीलाई व्यापार संघ कपिलवस्तुद्वारा चन्द्रौटामा स्वागत

दैनिक नेपाल २०७७ कार्तिक २७ गते ७:५३

चन्द्रौटा, २७ कात्तिक । साइकलमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा पश्चिमबाट चन्द्रौटा आइपुगेका विश्व साइकलयात्री पुस्कर शाहको टोलीलाई चन्द्रौटामा भव्य स्वागत गरिएको छ ।

पश्चिम महाकालीबाट यात्रा शुरु गरी विभिन्न स्थानको भ्रमण गर्दै बुधबार चन्द्रौटा आइपुगेका साइकलयात्रीलाई व्यापार संघ कपिलवस्तुले स्वागत गरेको हो ।

चन्द्रौटास्थित शिवराज रेष्टुरेन्टमा एक कार्यक्रमका बीच व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वमा संघका पदाधिकारीहरुले साइकलयात्री टोलीलाई स्वागत गरेका थिए । साइकलयात्रीलाई स्वागत गर्दै व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेलले गौतमबुद्धको शान्तिभूमिमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे । आन्तरिक पर्यटन प्रवद्र्धनले भरिपूर्ण पर्यटकीय स्थलहरुको उचित प्रचारप्रसार हुन नसकेको गुनासो गरे ।

पर्यटन प्रवद्र्धनका हिसाबले कपिलवस्तु देशकै गहना हो, विदेशमा कपिलवस्तुको प्रशस्त चर्चा परिचर्चा भएपनि आन्तरिक पर्यटकले नै वेवास्ता गर्दा जिल्लाका पर्यटकीय स्थलहरुको उचित प्रचारप्रसारमा कमी आएको औल्याए । “हामी विदेशका विभिन्न स्थानमा भ्रमण जान्छौं तर आफ्नै देशमा प्रशस्त रमणीय पर्यटकीय स्थल छन् तर वास्ता गर्दैनौं” – अध्यक्ष पोखरेलले भने । साइकलयात्रीहरुलाई गौतमबुद्धको राजप्रासादको भ्रमण गरी प्रचारप्रसारलाई तिब्रता दिन पोखरेलले आग्रह गरे । साथै २४ दिने आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका साइकलयात्रीहरुलाई सफल यात्राको शुभकामना दिएका थिए ।

साइकलयात्राको नेतृत्व गरेका विश्व साइकलयात्री पुष्कर शाह पश्चिम नेपालको महेन्द्रनगरदेखि पूर्वी नेपालको पशुपतिनगरसम्म साईकल यात्रामा निस्किएको जानकारी दिए । पश्चिमको महेन्द्रनगरबाट शुरु भएको साइकलयात्रा ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्वारी हुँदै बुधबार चन्द्रौटा आइपुगेको बताए । उनले बुधबार नै तिलौराकोट हुँदै लुम्बिनीको भ्रमण गर्ने योजना रहेको बताए । त्यसपछि तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभित्तासम्म पुगी यात्राको समापन गरिने पर्यटन व्यवसायीहरुको नेतृत्व गरेका पुस्कर शाहले जनाए । आन्तरिक पर्यटन प्रवद्र्धनको लागि नेपाल पर्यटन वोर्डको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा गरिरहेको उनको भनाई छ ।

कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।

टोलीमा शंकर अधिकारी, सुवास केसी, मुक्ति पान्डे, राजेन्द्र सापकोटा, सीएन पान्डे लगायत १५ जना पर्यटन व्यवसायी सहभागीहरुको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित