२ कार्तिक २०८३, सोमबार

आईपीएल क्रिकेटको उपाधि पुनः मुम्बई इन्डियन्सलाई, दिल्ली क्यापिटल्सको सपना अधुरै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । मुम्बई इन्डियन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

साविक विजेता समेत रहेको मुम्बई इण्डियन्सले फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरी १३औं संस्करणको च्याम्पियन बनेको हो । यो सँगै मुम्बईले आईपीएलको उपाधि उचालेको पाँचौं पटक हो ।

मुम्बईको जितसँगै पहिलोपटक फाइनलको यात्रा तय गरेको दिल्ली क्यापिटल्सको च्याम्पियन बन्ने सपना अधुरै रहेको छ ।

मंगलबार राति यूएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको फाइलन खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ दशमलव ४ ओभरमा पूरा गर्यो ।

मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।

बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १/१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।

यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो । यसअघि मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितिसकेको छ ।

हालसम्म उपाधि जित्नेहरुमा २००८ को राजस्थान रोयल्स, २००९ को डेक्कन चार्जर्स, २०१० को चेन्नाई सुपर किंग्स, २०११ को चेन्नाई सुपर किंग्स, २०१२ को कोलकता नाइट राइडर्स र २०१३ को उपाधि मुम्बई इन्डियन्सले जितेका छन् ।

यस्तै २०१४ को उपाधि कोलकता नाइट राइडर्स, २०१५ को मुम्बई इन्डियन्स, २०१६ को सनराइजर्स हैदरावाद, २०१७ को मुम्बई इन्डियन्स, २०१८ को चेन्नाई सुपर किंग्स, २०१९ को मुम्बई इन्डियन्स र आज २०२० को उपाधि पुनः मुम्बई इन्डियन्सले जितेको छ ।