२ कार्तिक २०८३, सोमबार

उत्कृष्ट खेलसहित आईपीएलमा दिल्ली क्यापिटल्स फाइनल प्रवेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २४ कात्तिक । उत्कृष्ट प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा दिल्ली क्यापिटल्स प्रवेश गरेको छ ।

सनराइजर्स हैदराबादलाई आइतबार क्वालिफायर्स २ मा १७ रनले पराजित गरेपछि दिल्ली आईपीएलको १३ औं संस्करणमा आएर पहिलो पटक फाइनल पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले अबुधाबीस्थित शेख जायेद रंगशालामा ३ विकेट गुमाई १ सय ८९ रन बनायो । केन विलियम्सनले ४५ बलमा ६७ रन बनाए पनि हैदराबादले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

दिल्लीले मंगलबार हुने फाइनलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ । डिफेन्डिङ च्याम्पियन्स मुम्बईले शुक्रबार दिल्लीलाई क्वालिफायर्स १ मा ५७ रनले पराजित गरेको थियो ।

दिल्लीले पृथ्वी शलाई बेन्चमा राख्दै मार्कुस स्टोइनिसलाई ओपनिङमा पठाएको थियो । स्टोइनिसले शिखर धवनसँग पहिलो विकेटमा ८.२ ओभरमा ८६ रन जोडेपछि दिल्लीले मजबुत स्कोर बनाएको थियो । मध्यक्रममा पनि प्रभाव पार्दै आएका स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्कासहित ३८ रन बनाए ।

हैदराबादले पहिलो ओभरमा रवीचन्द्रन अश्विनमाथी हावी हुँदै आक्रामक सुरुवात गर्न खोजेको थिए । दोस्रो ओभरको पहिलो बलमै कागिसो राबाडाले कप्तान डेविड वार्नरलाई २ रनमा बोल्ड गरे ।