काठमाडौं, २३ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बस्न अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताले गरेको आग्रहपश्चात् समेत सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको हो ।
अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग बैठकका लागि लिखित रूपमै आग्रह गरेका छन् । भेटका क्रममा नेताबीच ‘घोचपेच’ शैलीमै छलफल सुरु भएपछि बैठक बस्ने विषयमा सहमति जुट्न नसकेको नेकपा स्रोतको भनाइ छ ।
शनिबार अध्यक्ष दाहालसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित रूपमै बैठकका लागि आग्रह गरेका हुन् । शनिबार र शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक छलफलपश्चात् अध्यक्ष दाहालसहितका नेताले सामूहिक रूपमै बैठक बस्न आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।
नेकपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकताको रक्षा एवं समग्र विषयमा छलफलका लागि सचिवालय बैठक बस्नुपर्ने बताए । अध्यक्ष दाहालसहित सचिवालयका पाँचै जना नेताले सामूहिक रूपमै अर्का अध्यक्ष ओलीसँग भेटेरै बैठकका लागि आग्रह गरिएको उनले बताए ।
गत २६ भदौमा सकिएको स्थायी कमिटीको निर्णय कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष दाहालसहितका नेताले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि दबाब दिएका छन् । आफूविरुद्ध गुटबन्दी भएको बताउँदै ओलीले बैठक बोलाउन नचाहेको बताइएको छ ।
बैठकको आवश्यकताबारे स्पष्ट गर्दै अध्यक्ष दाहालले विगतका कुरासमेत गरेका छन् । भदौमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको बताउँदै अध्यक्ष दाहालले यसबीच थप समस्यासमेत भएकाले बैठक बसेर छलफल गर्नुपर्ने मत राखेको नेकपा स्रोतले जनाएको छ ।
‘पार्टीका निर्णय कार्यान्वयनसहित यसबीचमा देखिएका समस्यालगायतका विषयमा छलफल गरौं । बैठक बसौं भनेर मैले भन्दा तपाईं (ओली)ले मान्नुभएन,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले बैठक राख्छु भन्दा तपाईं पार्टी फुटेको मान्छु र अर्को बैठक राख्छु भन्नुहुन्छ । त्यसैले अनौपचारिक बैठक राखें र सबै साथीको सुझावसहित यहाँ आएको छु । म फेरि पनि आग्रह गर्छु, बैठक राखौं र छलफल गरौं ।’
दाहालको आग्रह सुनेपछि ओली पनि आक्रमक रूपमा प्रस्तुत भएको बताइएको छ । ‘तपाईंको कुरा पनि यस्तै हो । सधैँ गुटबन्दी गर्ने र गुटका कुरा सुनेर जालझेल गर्नुहुन्छ । यसरी कसरी हुन्छ ? मैले बैठक नराख्ने कहिले भनेको छु र ? छलफल गरौं । सहमति गरेरै बैठक बसौं,’ ओलीले भने ।
लगत्तै अन्य नेताहरूले ‘आइतबार या सोमबार नै बैठक बसौं’ भनेका थिए । तर, ओलीले भोलि या पर्सि नै नभई छलफल गरेर बस्नुपर्ने जवाफ दिएका थिए । गुटबन्दी गरेको ओलीको भनाइप्रति प्रतिवाद गर्दै अन्य नेताले एकै स्वरमा भनेका थिए, ‘तपाईंले भेला गर्दा हुने, जुम बैठक गर्दा हुने तर अरूले छलफल गर्दा गुटबन्दी हुने ।’ सभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया