१ कार्तिक २०८३, आइतबार

म प्रथम अध्यक्ष हो, उहाँ द्वितीय अध्यक्ष, सभापतित्व गर्नुस् भनेर छाडिदिएकै छुः ओली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्‍यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरूलाई सुनाएपछि राजनीति तरंगित भयो। तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन्। ‘कसले गर्‍यो पार्टी फुट्ने कुरा ? मैले ?’ विशेष अन्तर्वार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूले नै अलि अगाडि पत्रकार सम्मेलनै गरेर जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?’

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नो गरौं, तर झगडा नगरी सल्लाहमा गरौं भनेर बोल्ने गरेको ओलीको आरोप छ। ‘फेरि अर्काे साथीले पनि त्यस्तो भन्नुभयो भन्ने कुरा छलफलका क्रममा प्रचण्डजीले मसँग भन्नुभयो’, उनले भने, ‘त्यसपछि मैले उहाँलाई सोधें, त्यस्तो स्थिति आउन दिने ? अनेकतातिर जान दिने ? एकताबद्ध बनाएरै पार्टीलाई अगाडि बढाउनुपर्छ, अरू प्रकारका गुटगत क्रियाकलाप तपार्इंहरू गर्दै हुनुहुन्छ, यो नगरौं भनेको हुँ।’

तर, पार्टी कसैले फुटाउन नपाउने उनले बताए। भने, ‘पार्टी कुनै हालतमा फुट्दैन, फुट्न दिइन्न।’ बरु सचिवालयका ५ नेताको बेला–बेलाको बसाइको उनले कडा कटाक्ष गरे। ‘उहाँहरू पाँच जना बस्ने गर्दै आइरहनुभएकै छ। यो विल्कुल अस्वस्थ तरिका हो। गलत तरिका हो’, ओलीले भने। कर्णालीमा आफूमाथि आक्षेप लगाएर चुपचाप बसेको दाहालमाथि ओलीको आरोप छ। ‘पार्टीमा समस्या भइरहेको छ भने कार्यकारी अध्यक्ष हुँ भन्ने मान्छेले हेर्नु पर्दैन ? त्यो थाहा पाएर मलाई भन्नु पर्दैन ? दर्ता भइसकेपछि उहाँले मलाई सूचना गर्नुभयो। उहाँको काम पार्टी सञ्चालन गर्ने होला, पार्टी हाँक्ने, मिलाउने होला। त्यो गर्नु पर्दैन ? मेरो टाउकामा हाल्ने ?’

अध्यक्ष दाहालसहित सचिवालयका ५ नेता शनिबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पार्टी बैठक बोलाउन माग गर्दै बालुवाटार पुगे। अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई पत्रै बुझाए।

स्रोतका अनुुसार बैठक माग गर्ने नेतासँग प्रधानमन्त्री ओलीको केही बेर चर्काचर्की भयो। लगत्तै अन्तर्वार्ताका क्रममा हामीले सोध्यौं, ‘उहाँहरूसँग के–के कुराकानी भए ?’

‘उहाँहरू आउनुभयो। पत्र बुझाएर जानुभयो। के छ त्यसमा, हेर्न बाँकी छ।’ तर, बैठक बोलाउनेबारे ओलीको भनाइ छ, ‘जसले जतिखेर भन्यो त्यतिखेर बैठक बस्ने कुुरा होइन। जग हँसाउन बैठक बस्दैन।’

प्रधानमन्त्री ओलीले आफूलाई अल्पमतमा परेको नठान्न चेतावनी दिए। ‘म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हँु। अहिले पनि त्यही हैसियतमा यता पनि प्रथम अध्यक्ष हँु। अरू कसैको कतै बहुमत छ, मेरो प्रतिस्पर्धामा प्रतिद्वन्द्वितामा कसैको बहुमत छ, म अल्पमतमा परें भन्ने कसैलाई भ्रम नरहोस्’, उनले भने।

उनले भदौ २६ मा सहमति गरे पनि त्यसअघिको झगडा व्यर्थको भएको आरोप लगाए। ‘त्यसभन्दा अगाडिको लडाइँ केका लागि थियो ? के इस्यु थियो ? व्यक्तिगत स्वार्थ, व्यक्तिगत महŒवाकांक्षा, व्यक्तिगत कुण्ठा र ईष्र्याबाहेक के थियो ? सैद्धान्तिक मुद्दा थियो ? वैचारिक मुद्दा थियो ? राष्ट्रिय मुद्दा थिए केही ? केही पनि थिएनन्’, उनले भने, ‘खाली गुटबन्दी गर्ने, गुटका बैठक बस्ने, त्यहाँबाट निहुँ खोज्ने, त्यति न थियो। त्यो दुष्प्रयास सफल नभएपछि सहमति खोज्नुपरेको हो। सहमति खोज्न मानियो। मञ्जुर गरियो। सहमति जसरी भए पनि चाहिएको थियो। जे–जे भनेर सहमति हुन्छ भने त्यही गरौं भनेर गरियो।’

अध्यक्षद्वयको कार्यविभाजन र कार्यधिकारका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘म प्रथम अध्यक्ष हो। उहाँ द्वितीय अध्यक्ष। हामीकहाँ प्रथम अध्यक्षचाहिँ झन् सेरोमोनियल हुन्छ र ? द्वितीय अध्यक्ष भनेको द्वितीय अध्यक्ष नै हो। तैपनि, सभापतित्व गर्नुस् तपाईं भनेर छाडिदिएको छ। चलाउनुस् न त, छाडिदिएकै छ। अनि के पुगेन अझै ? गुटमा सधैं प्रधानमन्त्रीको आलोचना गरेको छ, प्रधानमन्त्री भएन भनेको छ। प्रधानमन्त्री भएन भनेको के हो ? को हुनुपर्छ भनेको ? आफू हुनुपर्छ भनेको हो ?’ अखण्ड भण्डारी/रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।