
काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुट्दै नफुट्ने र फुट्न नदिइने विश्वास व्यक्त गरेका छन् ।
पार्टीभित्र भइरहेका अनुचित कार्यहरु समयक्रमसँगै आलोचित र अस्वीकृत हुने बताउँदै प्रधानमन्त्री ओलीले अनुचित कार्यहरू खिइँदै गएर समाप्त हुने समेत बताएका छन् ।
शनिबार राति एपीवान टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले भने, ‘ति आलोचित हुन्छन्, यिनलाई कसैले वेलकम गर्ने छैनन् ।’ केही मानिसको निजी स्वार्थका पछाडि देश नकुद्ने भन्दै उनले देशको आवश्यकताको जगमा पार्टी एकीकरण भएकाले फुट्दै नफुट्ने दाबी गरेका छन् ।
पार्टी एकीकरणको सन्दर्भमा तलसम्म अन्तरघुलन गराउँदै लैजानु पर्ने भए पनि त्यो मिलाउने ठाउँमा आपसी घृणा फैलाउने खालका सन्देश प्रवाह गर्ने र आफ्नो स्वार्थ पूरा गर्न अनुचित ढंगले लागेको आरोप पनि उनले लगाएका छन् ।
स्वार्थपूर्ण ढंगले पार्टी फुटाउन लागि पर्नेहरूलाई आफूले जुनकुनै हालतमा असफल पारिछाड्ने बताउँदै प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भनेका छन्, ‘म यो पार्टी फुट्न दिन्नँ, यो पार्टी फुट्न नदिन, पार्टी जोगाउन, पार्टीलाई सफल बनाउन म क्रियाशील छु, क्रियाशील रहन्छु र सफल हुन्छु ।’















प्रतिक्रिया