
काठमाडौं, २२ कात्तिक । पछिल्लो समय कोरोना संक्रमण तथा त्यसबाट मृत्यु हुनेको संख्याका आधारमा काठमाडौं उपत्यका ‘कोरोना हटस्पट’ बनेको छ ।
दैनिक संक्रमितमध्ये करिब आधा संख्या उपत्यकाकै हुने गरेको छ । उपत्यकाका तीन जिल्लामध्ये पनि काठमाडौंमा कारोनाको संक्रमण र मृत्युको दर उच्च छ ।
शनिबारसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार ७९० पुगेको छ । त्यसमध्ये काठमाडौंमा १५ हजार ४५५, भक्तपुरमा १ हजार २१६ र ललितपुरमा २ हजार १९१ जना छन् ।
यस्तै उपत्यकाभित्र हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०६ जना पुगेको छ । त्यसमध्ये काठमाडौंमा २७०, भक्तपुरमा ७० र ललितपुरमा ६६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ ।
यसैगरी उपत्यकामा संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६७ हजार ९२६ जना पुगेको छ । त्यसमध्ये काठमाडौंमा ५५ हजार ४८, भक्तपुरमा ५ हजार १४४ र ललितपुरमा ७ हजार ७३४ जनाले कोरोना संक्रमण जितेका छन् ।
यस्तै मन्त्रालयका अनुसार उपत्यकाभित्र काठमाडौंमा ११ हजार ५७०, भक्तपुरमा १ हजार ७५० र ललितपुरमा १ हजार ८०३ जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ६२५ जना महिला र ८८७ जना पुरुष छन् ।















प्रतिक्रिया