
काठमाडौं, २२ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको क्षेत्रफल बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।
नापी विभागले तयार पारेको प्रस्तावअनुसार अब ८२५ वर्ग किलोमिटर क्षेत्रफल थप हुने छ । यसअघि १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको नेपालको क्षेत्रफल अब ८२५ वर्ग किलोमिटर थप भएर १ लाख ४८ हजार ६ दशमलव ६७ वर्ग किलोमिटर हुने छ ।
सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नयाँ नक्सा अनुसार देशको क्षेत्रफल पनि थप गर्न लागेको हो ।
तर, नापी विभागले दशैंअगाडि नै सो प्रस्ताव तयार पारेर मन्त्रालयलाई बुझाइसकेको भए पनि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान भने ढिलाई गरिरहेको स्रोतको भनाइ छ ।
नक्सा जारी गरे लगत्तै मन्त्रालयले नापी विभागलाई अद्यावधिक गरिएको नक्सा अनुसार क्षेत्रफल नापजाँच गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि विभागका प्राविधिकहरुले नयाँ नक्सा अनुसार क्षेत्रफल नापजाँच गरेर प्रस्ताव तयार पारी मन्त्रालयमा पठाएको बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार विभागले तयार पारेको उक्त प्रस्ताव केही दिनमा मन्त्रिपरिषद्मा लैजाने तयारी भएको छ । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले पास गरे पछि थप गरिएको क्षेत्रफल आधिकारिक रुपमा घोषणा हुने छ ।















प्रतिक्रिया