१ कार्तिक २०८३, आइतबार

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : उपाध्यक्ष ढकाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भएका छन् ।

त्यसका लागि आफु हरहिसाबले सक्षम र दाबेदार रहेको बताउँदै ढकालले आफूले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने समेत बताएका छन् ।

नेपालगञ्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने, ‘यसअघि अरुले के गरे मलाई थाहा भएन । तर, म सदैव तपाईहरुकै साथमा रहेको छु र सँगै नै रहने छु । सदा जस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिने छु ।’

‘अहिले विपक्षी साथीहरुले महासंघमा २५–३० वर्ष विताएको भन्दै अब आफूले नेतृत्व गर्न पाउने दाबी गर्दै आउनुभएको छ’, उनले भने, ‘धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन । त्यसका लागि आफैले व्यवसाय गरेर उद्योगी व्यवसायीको वास्तविक समस्या बुझेको हुनुपर्छ । नेतृत्वका लागि व्यवसायीहरुको विश्वास र समर्थन आवश्यक पर्छ ।’

आफूले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै ढकालले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यावसायिक वातावरण बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुने छ’, ढकालले भने ।

उनले यसअघि शुक्रबार गुलरिया उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो आएपछि ढकालले सो धारणा व्यक्त गरेका हुन् ।

‘हो, म पनि दुई–तीन वर्षयतादेखि नै देशका प्रायः सबै जिल्लामा पुगेको छु र सबै साथीहरुका समस्या र गुनासाहरु सुनेको छु, उहाँहरुको अनुभव पनि यही छ कि देशको निजी क्षेत्रको यो गरिमामय संस्थाको सम्मान र साख पहिलेको तुलनामा ह्रास हुँदै गएको छ, यसको प्रतिष्ठालाई माथि उठाउन केन्द्रीय पदाधिकारीहरुले नै उल्लेखनीय काम गर्नुपर्ने छ’, उनले भने ।

उपाध्यक्ष ढकालले जबसम्म यो संस्थाको प्रतिष्ठा र सम्मान रहन्छ तबमात्र राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्ने छन्, हाम्रो नेगोसिएसन पावर बढ्ने बताउँदै जसका कारण समग्र निजी क्षेत्रको प्रवद्र्धन भई देशको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले यस अघि आफूहरुले सहयोग गरेका कतिपय उम्मेदवारले चुनाव जितेपछि प्रतिवद्धता अनुरुप काम नगरेको भन्र्दै यस पटकको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल नेतृत्वको टीमबाट त्यस्तो धोका नहुने बताए ।

‘यस अघि चुनाव जितेका साथीहरु केन्द्रमा मात्रै रमाएर बसे । तर, यस पटकको हाम्रो उम्मेदवार चन्द्र ढकालले ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सिमित भएर नबस्ने उनले दाबी गरे ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले यसअघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफूहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरेका छन् ।

साथै कोभिडका कारण जिल्ला नगरका उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफू नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने ढकाल समूहको प्रतिबद्धता छ । अबका दिनमा बस्तुगत तथा एशोसिएट्सबाट मात्रै हैन ५० प्रतिशत मतभार भएको जिल्लाकै साथीहरु अध्यक्ष बन्ने माहोल समेत आफुले बनाउने उनीहरुको भनाइ छ ।

कार्यक्रममा उपस्थित ३० भन्दा बढी जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले जिल्लास्तरबाट सानो व्यवसायबाट सुरु गर्दै ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गर्दै आफ्ना समस्या बुझेका चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा र जिल्ला नगरका समस्यासँग जुध्दै आएको गुणनिधि तिवारीलाई उपाध्यक्षमा बिजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।