
काठमाडौं, २२ कात्तिक । देशभर न्यूनतम तापक्रम क्रमशः घट्दै चिसो बढिरहेका बेलामा आज बिहान काठडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको यो तापक्रम जाडो सुरु भएपछिकै कम मापन गरिएको हो । हिजो शुक्रबार बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
काठमाडौंसहित देशभर नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ ।
जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । अन्य ठाउँको न्यूनतम तापक्रम पनि बिस्तारै घट्दै गएको महाशाखाले बताएको छ ।
यसैबीच आज देशभर खुलेर घाम लाग्ने सम्भावना छैन । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।















प्रतिक्रिया