१ कार्तिक २०८३, आइतबार

मुलुकमा महामारी संकट, आन्तरिक किचलोमामा सत्तारूढ नेकपा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवादले कोरोना महामारीलाई छायामा पारेको छ। कोरोना संक्रमण दर दिनहुँ बढिरहेको र बिरामीले राम्रोसँग उपचार नपाइराखेका बेला नेकपाका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा गुटका भेला गरेर दिन बिताइरहेका छन्। जनताका समस्याभन्दा राज्यसत्ता र पार्टी सत्तामा कसले प्रभाव जमाउने भन्नेमा उनीहरुको ध्यान केन्द्रित भएको छ।

कोरोना संक्रमणबाट मुलुकलाई जोगाउने प्रमुख कार्यभार बनाउनुपर्ने सत्तारुढ दल आन्तरिक विवादमा फस्दा सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन। दलले पनि सरकारलाई मार्गनिर्देश गर्न सकेको छैन। सत्तारुढ दलका शीर्ष नेताहरु आरोपप्रत्यारोप गरेर समय बिताइरहेका छन्। नेकपाका कार्यकारी अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी र सरकारमा समस्या आएको आरोप लगाउँदै आएका छन्। प्रधानमन्त्री ओलीले पनि कार्यकारी अध्यक्ष र अन्य नेताले सरकारका हरेक काममा अवरोध खडा गरेको दोषारोपण गर्दै आएका छन्। पछिल्ला पाँच दिनयता ओली र दाहालबीच तिक्तता झनै बढेको छ। ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएको भन्दै सबैखाले षड्यन्त्र असफल बनाउने चेतावनी दिएका छन्।

‘सरकारलाई असफल बनाउने, सधैं घेराबन्दी गर्ने, काममा अवरोध खडा गर्ने लगातार कोसिस हुँदै आएको छ, त्यस्तो कोसिस अहिले पनि भइरहेको छ’, प्रधानमन्त्री ओलीले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा भनेका थिए। दाहालले पनि ‘ओलीले पार्टी फुटाउँछु भन्ने गरेको, ठूलै एक्सन लिन्छु भन्ने गरेको तथा सँगै बस्न नसकिने भयो, अब सहमतिमै अलग बसौं भन्ने गरेको’ भन्दै उत्पन्न असहज परिस्थितिबारे आफूनिकट नेताहरुसँग निरन्तर परामर्श गरिरहेका छन्।

नेकपाभित्रको यो घरझगडाले सरकार र मुलुक प्रभावित भएको टिप्पणी राजनीतिक विश्लेषकहरूको छ। ‘मुलुक कोरोना महामारीको संकटमा परेका बेला सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्नेमा सत्तापक्षकै नेताहरुबीच सहकार्य हुन सकेको छैन। यस्तो अवस्थामा सत्तापक्षका नेताहरुले जनताको हितमा केही नसोचेको आभास भएको छ’, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्। उनका अनुसार सत्ता पक्षका नेताबीचको विवादले कोरोनाजस्तो महामारीसँग जुध्न सरकारलाई अप्ठेरो भएको छ। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।