
काठमाडौं, २१ कात्तिक । नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम बर्माको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।
७९ वर्षीय बर्माको निधनले महासंघ स्तब्ध भएको महासंघले बताएको छ । स्वास्थ्य अवस्था खराब भएपछि तीन सातादेखि ललितपुरस्थित किष्ट अस्पतालमा उपचार गरइरहेका उनलाई कोरोना संक्रमण समेत देखिएको थियो ।
तर, कोरोनामुक्त भएका पत्रकार बर्माको शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो । स्वर्गीय वर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका तर्फबाट सचिव रामप्रसाद दाहालले महासंघको झण्डा ओढाएर मृतक बर्माप्रति श्रद्धाञ्जली अर्पण गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो क्रममा धादिङका सञ्चारकर्मी, पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रतिनिधि, महासंघका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही पत्रकारितामा सक्रिय बर्मालाई नेपाल पत्रकार महासंघले २०७१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो । यस्तै २०७६ सालमा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’बाट समेत सम्मान गरेको थियो ।
उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ भने महासंघ धादिङ शाखाले अभिभावक गुमाएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया