आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

राष्ट्रिय सहकारी बैंकद्वारा पोखराका दुई वटा सहकारी पुरस्कृत

दैनिक नेपाल २०७७ कार्तिक २१ गते १९:०३

बागलुङ, २१ कात्तिक । राष्ट्रिय सहकारी बैंकले पोखराका २ वटा सहकारीलाई पुरस्कृत गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने ती सहकारी संस्थालाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो । पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने नयाँबजारस्थित उन्नती बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको सहकारी बैंकले जानकारी दिएको छ ।

संगम साकोसका अध्यक्ष निरज थापा र उन्नती साकोसका अध्यक्ष राजेश रानाभाटलाई बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्र सहित पुरस्कृत गरे । सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको बैंकका सञ्चालक जिसीले बताए ।

बैंकको वार्षिक साधारणसभाका अवसरमा केन्द्रीय र प्रदेश स्तरीय पुरस्कार वितरण गर्नुका साथै शाखा स्तरको पुरस्कार घोषणा गरी राष्ट्रिय सहकारी दिवसका अवसरमा वितरण गरिँदै आएकोमा यसपटक कोरोना संक्रमणका कारण ढिला भएको जिसीको भनाइ छ ।

कार्यक्रममा पुरस्कृत संस्था संगम साकोसका अध्यक्ष निरज थापाले राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । नीति विधि र प्रविधिको प्रयोगमार्फत आम समुदायको आर्थिक सामाजिक रुपान्तरण लागि सहकारी अभियानलाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्यमा उनको जोड छ ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसी प्रसाद गुरुङको अध्यक्षता, बैंकका सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको स्वागत र शाखा प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारी बैंकका ४४ शाखा मध्ये राजधानी बाहिरको उत्कृष्ट शाखाका रुपमा रहेको पोखरा शाखामा ३३१ सदस्य संस्था, १६ करोड शेयर पूँजी, ३ अर्ब ३५ करोड निक्षेप र ७५ करोड कर्जा लगानी रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिए । राष्ट्रिय सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको छ ।

गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतली बजारमा शाखा सञ्चालन हुने भएका छन् । नयाँ शाखा सञ्चालनका तयारी अन्तिम चरणमा पुगेको बैंकका सञ्चालक जिसीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित