
काठमाडौं, २० कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहिरहन पनि नेपाल टेलिकमले सबैभन्दा गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रदान गर्नैपर्ने बताएका छन् ।
मन्त्री भएपछि पहिलोपटक बिहीबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयको अनुगमन गर्ने क्रममा उनले मन्त्रालयसँग गरिएका कार्यसम्पादन सम्झौताअनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तारमा ढिलाई नगर्न पनि निर्देशन दिएका छन् ।
‘मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौताअनुसार नेपाल टेलिकमले वडा तहसम्मै इन्टरनेट सेवा पुर्याउन ढिलाई गर्नु हुन्न’, मन्त्री गुरुङले भने, ‘ग्राहकको चाहनालाई ध्यानमा राखेर सबैभन्दा सस्तो र गुणस्तरीय सेवा नदिए नेपाल टेलिकमले निजी क्षेत्रसँगको प्रतिपर्धामा आफूलाई अग्रणी कायम राखिरहन सक्दैन ।’
मन्त्री गुरुङले सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने योजना कार्यान्वयनको काममा केन्द्रित हुन पनि टेलिकमका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री गुरुङले व्यक्त गरे ।
सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउन नेपाल टेलिकममा आवद्ध कर्मचारी संघ, संगठनलाई पनि आग्रह गरेका छन् । उनले नेपाल टेलिकमको सेवालाई अब्बल बनाउन विभागीय प्रमुखहरुले नयाँ कार्य योजनाका साथ अघि बढनुपर्ने बताए ।
सरकारी संस्थाहरु भ्रष्टाचार लगायत गलत कार्यका कारण धरासायी बन्दै गएको उल्लेख गर्दै त्यसो हुन नदिने दृढता पनि उनले व्यक्त गरेका छन् ।
सो अवसरमा मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा खुशीयाली आउने गरी काम गर्न टेलिकमका कर्मचारीहरुलाई आग्रह गरे भने प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको विगत, वर्तमान र भावी योजनाबारे सञ्चारमन्त्री गुरुङलाई ‘ब्रिफिङ’ गरेका थिए ।















प्रतिक्रिया