आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

जितको नजिक पुगेपछि बाइडनले शुरू गरे ह्वाइट हाउस जाने तयारी

दैनिक नेपाल २०७७ कार्तिक २० गते १३:३५

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा करिब–करिब जित नजिक पुगेपछि राष्ट्रपति डनाल्ड ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले ह्वाइट हाउस जाने तयारी गरेका छन् ।

आफ्नो जित सुनश्चित भएको भन्दै बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामक ट्रान्जिसन वेबसाइट समेत शुरू गरेका छन् ।

बीबीसीले प्रकाशित गरेको समाचार अनुसार अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसनल टीम (संक्रमणकालीन टीम) गठन गर्छन् । सोही अनुसार सो वेबसाइट शुरु गरिएको हो ।

अहिलेसम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा भएको छैन । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेका छन् ।

राष्ट्रपतिका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् । पछिल्लो परिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २६४ र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

अमेरिकाका ५० राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ । अब बाइडेनले कुनै एक राज्यमा मात्रै जित हासिल गरे उनी निर्वाचित हुने बीबीसीको दाबी छ ।

बाइडेन जित नजिक पुगेसँगै राष्ट्रपति ट्रम्पको चुनावी प्रचार अभियानले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ ।

बाइडनले अहिले सार्वजनिक गरेको वेबसाइटमा लेखिएको छ, ‘अहिले मुलुकले महामारीदेखि आर्थिक गिरावटसम्म, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेको छ र ट्रान्जिसन टीमले पूर्ण गतिका साथ आफ्नो तयारी गर्ने छ । जसको आधारमा बाइडन–ह्यारिस (बाइडनको उपराष्ट्रपति कमला ह्यारिस) प्रशासनले पहिलो दिनबाट नै काम सुरु गर्न सकोस् ।’

बुधबार बाइडनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिका सामेल हुने घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित