
काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिए देश बर्बादीतिर जाने बताएका छन् ।
मनमोहन सेन्टर एनेक्स भवन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिनु भनेको देश बर्बादीतिर जान दिनु भएको बताएका हुन् ।
आफ्नो राजीनामाबारे सञ्चारमाध्यममा हल्ला फैल्याइएको बताउँदै उनले आफूले राजीनामा नदिन स्पष्ट पारेका हुन् । उनले भने, ‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पर्यो । तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन ।’
उनले भने, ‘मैले अहिले राजीनामा दिन मिल्छ ? व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो। ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन। केही हुनेवाला छैन ।’
त्यस्तै, उनले जेमा पनि आलोचना गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘भित्र बाहिर अनेक कोसिस त भए। जेमा पनि आलोचना गर्ने ? देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभइ काम गर्नुपर्छ ।’
आफूले स्थिरताका लागि काम गरिरहेको र स्थिरताले परिवर्तन र विकास ल्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।















प्रतिक्रिया