
काठमाडौँ, १८ कात्तिक । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् ।
उनले संसद भवनको सरसफाई र शौन्दर्यता कायम गर्न कुनै कन्जुस्याइ नगर्न निर्देशन दिएका छन् ।
शहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तराष्र्टि«य सम्मेलन केन्द्र हालको व्यवस्थापिका संसद भवनको निरीक्षण गर्न मंगलबार दिउसो केन्द्रमा पुग्नुभएका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिए ।
मन्त्रालय अन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद भवनको रुपमा प्रयोग हुदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न निर्देशन दिए ।
‘माननीय सांसदज्युहरु बस्ने कुर्सीको अवस्था कस्तो छ ? बगैचामा फूल फुलेका छन् कि छैनन् ? हेर्नुस, नभए सिजन अनुसारको फुल फूलाउनुस, हरियाली देखिएको छैन त्यसलाई तुरुन्त हरियाली बनाउनुस–भवन परिसरमा रहेको अवस्थाबारे निरीक्षण गर्दै उनले भने । उनले सांसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाको कार्यकक्ष समेत निरीक्षण गरेका थिए ।
सिंहदरबारमा निर्माणाधिन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मत सम्हार गरी भवनलाई साच्चिकै संसद भवनको रुपमा पहिचान गराउनुपर्ने बताए ।
विकास समितिका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायीक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिए ।
उनले भनिन्, ‘हाल देखिएकाकेही समस्यालाई तत्काल समाधन गरी संसद चल्नुअघि भवनलाई दुरुस्त बनाउनुस्, आवश्यक सहयोग मन्त्रालयले गर्नेछ ।’
उनले भवनमा रङरोगन लगाउने, भवनमा रहेका प्राविधिक पक्षलाई तत्काल समाधान गर्ने विषयमा विशेष ध्यान दिन आग्रह गरे । केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले १ सय ५३ क्षेत्रफलमा रहेको सो भवनभित्र ८ वटा हलमा करिब २ हजार क्षमता रहेको, करिब ४ सय सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थल रहेको बताए ।
उनले साबिकको वानेश्वर ब्यारेकको नाममा रहेको जग्गाको स्वामित्व केन्द्रको नाममा ल्याउनुपर्ने, नीतिगत रुपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवा शर्त र आर्थिक नियमावली संसोधन गर्नुपर्ने लगायतका समस्या रहेको जानकारी गराए । उनले संसद अधिवेशन संचालन गर्न सबै व्यवस्थापन पक्ष केन्द्रले नै गर्दै आएको जानकारी गराए ।
उनले अब आउने व्यवस्थापिका संसदको अधिवेशन अगाबै बगैँचाको शौन्दर्यीकरण गर्ने, मर्मत सम्हार गर्ने, साउण्ड लाइट लगायतका सबै सिष्टमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरे । केन्द्र अन्तर्गत हाल १ सय ८ कर्मचारी कार्यरत छन् ।
मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयको जिम्मेवार क्षेत्रभित्र पर्ने सो केन्द्रलाई व्यवस्थित गर्न योजना बनाउन निर्देशन दिएका थिए ।















प्रतिक्रिया