१ कार्तिक २०८३, आइतबार

सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ कात्तिक । सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ। नेपाल सरकारले राजकुमारको सुरक्षा गर्ने जिम्मेवारी रहेका कारण सेनाले सर्भिलेन्स गरेको बताइए पनि आरोहरण दलमा अमेरिकी, क्यानडाली नागरिक समेत रहेका कारण सेनाले विशेष चासो दिएको हो।

कतारमा राजकुमार त्यहाँको सेनाको ओहोदामा रहेका कारण सेनाले आफ्नो उपस्थिति र निगरानी राख्नुपर्ने बताउँदै पर्यटन मन्त्रालयसँग यो विषय समयमै जानकारी नदिएकोमा असन्तुष्टि समेत जनाएको स्रोतले जनाएको छ। ‘कतार र बहराइनका राजकुमारहरु नेपालको हिमाल आरोहण गर्न आउनु सुखद कुरा हो तर उहाँहरूका साथ आउने सबै आरोहरणकर्ता पनि सेनामै कार्यरत हुन/होइन त्यसबारे जानकारी राख्नु नेपाली सेनाको दायित्व साथै सुरक्षा गर्ने जिम्मा सरकारको भए पनि कतारको सेनामा कार्यरत राजकुमारको ओहदा र मर्यादाका हिसाबले हाम्रो उपस्थिति जरुरी हुन्छ’, नेपाली सेनाका एक अधिकारीले भने।

केही दिनअघि नेपाल आएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको छ। आरोहणका लागि कठिन मानिने आमादब्लमका लागि कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियनको टोली आधार शिविर पुगेको हो। राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला गएको थियो। सो टोलीमा राजकुमार अब्दुल्लासहित अमेरिकी, क्यानेडियन गरी छ जना विदेशी र ११ जना नेपाली गरी १६ जना रहेका छन्। जसमा छ जना विदेशी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने बताइएको छ। ६ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो।

यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले सोलुखुम्बुको ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल र आठ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका थिए। बहराइनका राजकुमारले असोजको अन्तिम साता मनास्लु हिमाल आरोहण गरेका थिए।

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरे। ८,१६३ मिटर अग्लो मनासलु हिमाल आरोहरणमा सेभेन समिट ट्रेक्स प्रालिले चाजोपाँजो मिलाएको थियो।

उनीसँगै बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड, शेर्पागरी ५० जनाभन्दा धेरैले सो हिमाल आरोहण गरेका थिए। बहराइन सेनाको माथिल्लो तहमा रहेका राजकुमार नेपाल आएपछि सैनिक सहचारी र सैनिक जंगी अड्डाले चासो राखेको थियो। सैनिक स्रोतका अनुसार पर्यटन मन्त्रालयले यस्तो विषय जानकारी नगराएको भन्दै नेपाली सेनाले असन्तुष्टि जनाएको थियो। त्यतिबेला पनि नेपाली सेनाले उनीहरुलाई निगरानीमा राखेको थियो।

उच्च स्रोतका अनुसार विदेशी सेनाका पदाधिकारीसमेत रहेका राजकुमार नै आरोहणमा आए पनि त्यसको जानकारी नेपाली सेनालाई दिनु पर्छ। सरकारको तर्फबाट त्यसलाई बेवास्ता गरे पनि सेना आफैंले आवश्यक सूचना संकलन गरेको थियो। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।