१ कार्तिक २०८३, आइतबार

मिल्लान् ओली–नेपाल ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए।

कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो। कतिपयले त पूर्वएमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए। तर, नेपालले अन्नपूर्णसँग भने, ‘पार्टी एकता बचाउन तपाईंले माधव कमरेडलाई सम्झाइदिनुपर्‍यो भन्ने उहाँहरू (ओलीनिकट नेताहरू) को आग्रह थियो।’

नभन्दै सोमबार वरिष्ठ नेता माधव नेपाल उनलाई भेट्न गोठाटार पुगे। त्यहाँ उनीहरूबीच करिब दुई घण्टा बातचित भयो। ‘उहाँ (माधव नेपाल) ले हिजो (आइतबार) टेलिफोन गर्नुभएको थियो। तपाईंकहाँ प्रधानमन्त्रीका मान्छे आएछन्, मैले पत्रपत्रिका पढेर थाहा पाएँ। म भोलि लप्सीफेदीको कार्यक्रममा जानु छ। फर्किंदा तपाईंकहाँ पस्छु भन्नुभएको थियो,’ प्रदीपले भने, ‘त्यसपछि उहाँ आउनुभयो। कुरा खस्रा–मिठा भन्छन् नि ! त्यही भयो।’

पार्टीभित्र दुई अध्यक्षको पेचिलो अन्तरसंघर्ष चुलिइरहेका बेला नेताहरू शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, सूर्य थापा, राजन भट्टराईलगायत उनलाई भेट्न शनिबार गएका थिए। भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले धेरैपछिको सामूहिक भेटमा रमाइलो र दुर्लभ कुराकानी पनि हुने नै भयो भन्दै तस्बिरसमेत सार्वजनिक गरे। उनीहरू के गर्न आए ? भन्दै वरिष्ठ नेता नेपालले प्रदीपसँग जिज्ञासा राखेको उनले सुनाए। ‘तपाईंहरू (ओली–नेपाल) मिल्नुपर्‍यो रे ! मलाई पनि सक्रिय भइदिनुपर्‍यो, तपाईं हामी सबैको अभिभावक हुनुहुन्छ भन्दै आउनुभएको थियो’, प्रदीपले माधवलाई जवाफ दिए।

‘माधव कमरेड यहाँ आइरहनुहुन्छ। त्यही क्रममा आउनुभयो। म एकदम सक्रिय राजनीतिबाट बाहिर छु। अब थाकें। कति गर्न सक्छु र ?’ नेता नेपालसँग भएको कुराकानी बताउँदै उनले अन्नपूर्णसँग भने, ‘तपाईंहरू मिल्नुहुन्छ भने मिल्छ, मिल्नै चाहनुभएन भने मिल्दैन।’

तत्कालीन एमालेभित्र एक समय थियो– प्रदीप नेपाल र ईश्वर पोखरेलले पार्टीको आन्तरिक संगठनको जिम्मेवारीमा हस्तक्षेपकारी भूमिका खेल्थे। प्रदीप नेपालका कुरा त्यतिखेर माधव नेपाल र केपी ओलीसम्मले टार्न सक्दैन थिए। उनी निकै सक्रिय थिए र कडा स्वभावका पनि।

छैटौँ महाधिवेशनदेखि माधव नेपाललाई निरन्तर साथ दिँदै आएका उनी नवौं महाधिवेशनमा भने ओलीनिकट पुगे। ओलीको स्वास्थ्य स्थितिका कारण पनि एकपटक अध्यक्ष बनाउनुपर्ने उनको धारणा थियो। त्यही भएर ओली समूहबाट उपाध्यक्षमा चुनाव लडे। हारे। तर, उनकै सक्रिय भूमिकाका कारण प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्षमा बाजी मारेको चर्चा अहिले पनि पूर्व एमाले वृत्तमा हुने गर्छ। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।