
काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको प्रकोपबाट प्रभावित ऋणीको धितो धरौटी लिलाम नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन् ।
कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुलाई परेको कठिनाईलाई राष्ट्र बैंकले उचित सम्बोधन गर्ने बताउँदै उनले कोरोना प्रभावित ऋणीलाई थप मर्कामा नपार्न निर्देशन दिएका हुन् । कोरोना महामारीका कारण उद्योग व्यवसाय शिथिल बनेको अवस्थामा ऋणीलाई कालोसूचीमा राख्ने, धितो लिलाम गर्नेजस्ता कार्य नगर्न गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् ।
आइतबार राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा वेबिनारमार्फत् संयुक्त रुपमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयन अवस्था र समसामयिक आर्थिक गतिविधि’ का सम्बन्धमा राष्ट्र बैंकले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफालाई मात्रै नहरी वर्तमान विद्यमान अवस्थामा आफ्ना ग्राहकको अवस्था समेत विचार गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘कसैले कमाएका छन् भने भुक्तानी लिनुस्, नकमाउनेसँग कसेर नलिइदिनुस्’, उनले कार्यक्रममा भने । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थालाई परेको कठिनाइलाई सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताएका छन् ।















प्रतिक्रिया