
काठमाडौं, १७ कात्तिक । नेपाल साइकल यात्रा टीम काठमाडौंबाट पश्चिम महेन्द्रनगरतर्फ हिँडेको छ ।
पर्यटन व्यवसायीहरुको यो साइकल समूहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ । उनीहरुले महेन्द्रनगरदेखि पूर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।
साइकल समूह पश्चिम महेन्द्रनगरबाट शुरू भइ ठाकुरद्वार, नेपालगञ्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काँकडभित्तासम्म पुग्ने छ ।
समूहले यो यात्राममार्फत नेपाली पर्यटनलाई जीवन प्रदान गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साइकल यात्रीहरुको समूहलाई बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको कार्यालय, भृकुटीमन्डपबाट बिदाई गरेका हुन् ।
बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा हुन लागेको कम्तीमा तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौं फर्किने छ ।
कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।
साइकल समूहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पाण्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पाण्डे, सीएन पान्डे, लक्ष्मी श्रेष्ठ, पत्रकार अशोक सिलवाललगायत छन् ।
पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दूरी १ हजार ६२४ किलोमिटर हुने छ ।
कोभिड–१९ ले पर्यटन क्षेत्र कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन ब्युँझाउन गरेको यो सांकेतिक साइकल प्रयास हो ।















प्रतिक्रिया