१ कार्तिक २०८३, आइतबार

यसरी रोकियो कर्णालीको मन्त्रिमण्डल पुनर्गठन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ कात्तिक । केन्द्रमा पार्टी नेताबीच बढेको अन्तरविरोधका कारण कर्णाली प्रदेशमा ओली पक्षका मन्त्रीलाई हटाएर दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मन्त्रिमण्डल पुनर्गठनको प्रयास गरेको थियो।

त्यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबारदेखि नै तयारी थालेका थिए। उनले कात्तिक १२ मा काठमाडौंमा पुष्पकमल दाहाल र माधव नेपालसँग छलफल गरेका थिए।

उनले आइतबार मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका थिए। तर, प्रधानमन्त्री केपी ओलीले कर्णालीमा आफूपक्षीय मन्त्रीलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरे आफूले पनि कडा कदम चाल्ने चेतावनी दिएका थिए।

आइतबार दाहाललाई टेलिफोन नै गरेर ओलीले यस्तो चेतावनी दिएको स्रोतले बताएको छ। दाहाललाई महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि पालैपालो टेलिफोन गरेर कर्णालीको मन्त्रिमण्डल पुनर्गठन रोक्न आग्रह गरेका थिए।

‘महासचिव कमरेड र मैले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर कर्णालीको मन्त्रिमण्डल पुनर्गठन रोक्न आग्रह गर्‍यौं। यसले विवाद झन् बढाउँछ। समझदारीबाटै काम गरौं भन्ने आग्रह गरेका थियौं’, नेम्बाङले भने। अन्तत: दाहालले केही दिनलाई पुनर्गठन रोक्न मुख्यमन्त्रीलाई निर्देश गरेको स्रोतले बताएको छ।

‘कर्णालीमा ठीक छ तपाईंहरू आफ्नो कदम चाल्नुहोस्, त्यसपछि म तपाईंहरूले नसोचेको कदम चालिदिन्छु भनेर फोनबाट प्रधानमन्त्रीले भनेपछि प्रचण्डले तत्काललाई रोक्न निर्देशन दिनुभएको हो,’ स्रोतले भन्यो। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।